काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७५० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेको जनाएको छ। 

राष्ट्र बैैंकले हालै ११ महिना अर्थात जेठ मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै ७५३ तहमध्ये ३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगेको हो। धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा विस्तार हुन बाँकी रहेको हो। 

राष्ट्र बैंकका अनुसार २०७६ को चैत मसान्तसम्ममा ७४६ स्थानीय तहमा पुगेका वाणिज्य बैंक २०७७ चैत मसान्तसम्ममा ७५० तहमा पुुगेका थिए। २०८९ जेठसम्म आउँदा पनि ७५० तहमै बैंकको शाखा कायम भएको छ। 

२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२७ रहेको छ। यसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७९ जेठ मसान्तमा ११ हजार ४९२ पुगेको छ।

यसो त राष्ट्र बैंकले २०७४ असारभित्र अनिवार्य रुपमा सबै स्थानीय तहमा शाखा विस्तार गर्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, २०८९ जेठ मसान्तसम्म आउँदा पनि ७५३ वटै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुग्नुपर्ने राष्ट्र बैंकको लक्ष्य अहिलेसम्म पनि पूरा हुन सकेको छैन। विभिन्न कारण देखाउँदै आएका वाणिज्य बैंकहरु ती स्थानमा तत्कालै शाखा खोल्ने पक्षमा देखिँदैनन्।