काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा फाइनान्स कम्पनीले एकैदिन वार्षिक साधारणसभा आह्वान गरेका छन्।

प्रोग्रेसिभ, सेन्ट्रल, रिलायन्स र समृद्धि फाइनान्सले एकैदिन वार्षिक साधारणसभा आह्वान गरेका हुन्। यी चारै कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते वार्षिक साधारणसभा डोकेका छन्। 

सभाले यी चारै कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज छलफल गरी पारित गर्नुका साथै अन्य महत्वपूर्ण प्रस्तावहरु अनुमोदन गर्नेछ। 

प्रोग्रेसिभको २५ औँ वार्षिक साधारणसभा ललितपुर महानगरपालिकाको भोलगणेशस्थित ज्यापू प्रज्ञा भवनमा दिउँसो १ बजेदेखि वेबिनारमार्फत सभा सुरु हुनेछ। 

सभाले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले रिक्त सञ्चालक पदमा नियुक्ति गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

यसैगरी सेन्ट्रल फाइनान्सको २५ औँ वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्षको कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गते (पुस १६ गते शुक्रबार र पुस १७ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

रिलायन्स फाइनान्सको १२ औँ वार्षिक साधारणसभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित कम्पनीको मुख्य कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षको कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ० रहेका छन्। 

सभाले बोनस सेयर जारीपछि जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्न आवश्यक देखिएमा सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

हकप्रद जारी गर्न लागेको समृद्धि फाइनान्सको २० औँ वार्षिक साधारणसभा मकवानपुरको हेटौँडास्थित होटेल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहान १० बजे भर्चुअल माध्यमबाट हुनेछ। 

कम्पनीले आवश्यकताबमोजिम सहायक कम्पनी स्थापना गर्ने वा सहायक कम्पनीमा लगानी गर्ने र सो क्रममा नियमनकारी निकायहरुबाट आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले अनुमोदन गर्नेछ। 

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले यही पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।