काठमाण्डौ । तोकिएको न्यूनतम पुँजी पुर्याउन नसकेका ६ वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका छन्। 

नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो। पहिलो चरणमा मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने प्राधिकरणले निर्णय गरेको छ। 

पहिलो चरणमा सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, युनाइटेड अजोड, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न दिने निर्णय गरेको प्राधिकरणले गरेको छ। यी कम्पनीलाई न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म हकप्रद सेयर निष्कासनको अनुमति दिइने प्राधिकरणको एक अधिकारीले जानकारी दिए। ‘पुँजी पुर्याउन सानिमा रिलायन्सलाई १९.५० प्रतिशत, सूर्यज्योतिलाई १० प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई २१.९५ प्रतिशत, युनाइटेड अजोडलाई २३.२६ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत र हिमालयन एभरेष्टलाई ११.६१ प्रतिशत हकप्रद ल्याउनुपर्ने देखिन्छ’, ती अधिकारीले भने, ‘सोहीबमोजिम हकप्रद ल्याउन उनीहरुलाई अनुपाति दिने निर्णय भएको छ।’

प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम पुँजी तोकेको छ। 

मर्जरबाहेक तोकेको पुँजी पुर्याउन अन्य बाटो रोज्ने कम्पनीलाई दोस्रो चरणमा आवश्यकताबमोजिम हकप्रद ल्याउन अनुमति दिने योजनामा पनि प्राधिकरण रहेको छ।