काठमाण्डौ । नियम मिचेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। 

विभिन्न नियम मिचेकोमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकमाथि कारबाही गरेको हो। यी सबै बैंकलाई चालु आर्थिक वर्षमा प्रथमपटक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ। 

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोमा लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ जरिवाना गरेको छ। 

त्यस्तै हिमालयन बैंकलाई कर्जा/स्रोत परिचालन अनुपात कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार ४३४.०९ रुपैयाँ जरिवाना गरेको छ। 

एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकलाई भने अन्य शीर्षकमा कारबाही गरेको छ। यी बैंकहरुलाई विभिन्न नियम मिचेकोमा राष्ट्र बैंकले सचेत गराएको छ।