काठमाण्डौ । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्र यो वर्ष ४५ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ।

विश्व बैंकले युक्रेनको अर्थतन्त्रमा यो युद्धको नकारात्मक प्रभाव कोरोना महामारीका बेला पूर्वी युरोप र मध्य एसियामा देखिएको प्रभावभन्दा बढी हुने जनाएको छ। विश्व बैंकका अनुसार एकपछि अर्को धेरै प्रतिबन्धले रुसी अर्थतन्त्रलाई पनि सुस्त बनाउनेछ।

युद्धका कारण युक्रेनका अधिकांश जनता देश छोड्न वा फेरि लड्न बाध्य छन्। व्यापारहरु बन्द भएका छन् र सडक, कारखाना र अन्य प्रमुख भवनहरु आक्रमणबाट ध्वस्त भएका छन्। 

विश्व बैंकले युक्रेनको अर्थतन्त्र युद्धका कारण धेरै वर्ष पछाडि गएको जनाएको छ। युक्रेन सूर्यमुखी र गहुँको प्रमुख उत्पादक हो। तर, निर्यातमा रोक लगाउँदा विश्वभर यसको मूल्य बढेको छ र युक्रेनको महत्वपूर्ण आम्दानीको स्रोत पनि बन्द भएको छ।

विश्व बैंकले रुसमाथिको प्रतिबन्धको अर्थ यस वर्षको अर्थतन्त्र ११ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ। – एजेन्सी