काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को आज सम्पन्न विशेष साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ। 

काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको विशेष साधारणसभाले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आपसमा गाभ्ने–गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेको हो। सभाले आपसमा गाभिएपश्चात बन्ने निर्जीवन बीमा कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ राखिने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ। 

मर्जर प्रयोजनका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर अनुपात १००ः८२.५ कायम गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ। सभाले मर्जरसम्बन्धी सहमतिपत्र, अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुलगायत सम्पूर्ण कामकारबाहीको सभाले अनुमोदन गरेको छ। 

आपसमा गाभिएपछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई  दिने तथा गाभिएपछि बन्ने सञ्चालक समितिमा अजोड इन्स्योरेन्सबाट भई आएका सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सभाले पारित गरेको छ।