काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलसँगको सहकार्यमा एनआइसी एशिया युनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ । 

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियन पे भर्चुअल कार्डको सुरुवात गरिएको बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । 

यो कार्यक्रममा युनियन पे इन्टरनेशनल र एनआइसी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकीकृत गरी चाँडै ग्राहकसामु लैजाने योजना बनाएको बताएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ । 

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । युनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।

एनआइसी एशिया बैंकको हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । यो बैंकले करिब १८ लाखलाई स्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।