काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्राकृतिक ग्यास खरिदकर्तालाई रुबलमा भुक्तानी गर्न माग गरेका छन्। उनले रुबलमा पैसा नतिर्ने खरिदकर्तालाई ग्यास आपूर्ति बन्द गरिने धम्की पनि दिएका छन्। 

पुटिनको यो धम्कीले युरोपेली देशहरुमा हलचल मच्चिएको छ। अधिकांश युरोपेली देशहरुले रुबलमा भुक्तानी गर्ने मागलाई अस्वीकार गरेका छन्। 

रुसी ग्यासको सबैभन्दा ठूलो उपभोक्ता जर्मनीले पुटिनको मागलाई ब्ल्याकमेलिङको संज्ञा दिएको छ। युरोप पहिले नै प्राकृतिक ग्यासको मूल्यवृद्धिबाट त्रसित छ। यस्तो अवस्थामा रुसले ग्यास आपूर्ति बन्द गर्यो भने युरोपेली देशहरुमा भोकमरी आउन सक्छ। 

पुटिनको निर्णयपछि युरोपेली देशहरुको ग्यास आपूर्ति एक तिहाइले घट्ने आशंका गरिएको छ। जर्मनी रुसी ग्यासमा सबैभन्दा बढी निर्भर देश हो। यस्तो अवस्थामा जर्मनीले तत्काल आपतकालीन योजनामा काम गर्न थालेका छन्। 

यदि रुसले ग्यास आपूर्ति बन्द गर्यो भने युरोपेली देशको अर्थतन्त्रमा पनि गम्भीर असर पर्न सक्छ। रुसी ग्यास निर्यातलाई पुटिनको सबैभन्दा ठूलो हतियार मानिन्छ। यस्तो अवस्थामा समस्यामा परेका पुटिनले ग्यास आपूर्तिलाई हतियारका रुपमा प्रयोग गरेर रुसमाथिको आर्थिक प्रतिबन्धलाई खुकुलो बनाउन चाहन्छन्।

पुटिनले रुसी ग्यास खरिद गर्नेहरुले रुसी बैंकहरुमा रुबल खाता खोल्न पनि भनेका छन्। यस्तो अवस्थामा अप्रिल १ गतेबाट आपूर्ति भएको ग्यासको भुक्तानी रुबल खाताबाट हुनेछ। ‘यदि रुबल खाताबाट भुक्तानी गरिएन भने हामी खरिदकर्ताहरुलाई डिफल्टरका रूपमा व्यवहार गर्नेछौँ र तिनीहरुले त्यसको परिणामहरु भोग्नुपर्नेछ’, पुटिनले चेतावनी दिँदै भनेका छन्, ‘कसैले हामीलाई सित्तैमा केही बेच्दैन र हामी पनि परोपकार गर्न जाँदैछैनौँ। यस्तो अवस्थामा ग्यास आपूर्ति पनि बन्द गर्न सकिन्छ।’

रुसका राष्ट्रपतिको यो मागलाई युरोपेली संघ र जी–७ का सदस्य राष्ट्रहरुले अस्वीकार गरेका छन्। इटालीले रुसलाई कडा प्रतिक्रिया दिन आफ्ना युरोपेली साझेदारहरुसँग सम्पर्कमा रहेको जनाएको छ। यस्तो अवस्थामा इटाली आफ्नै देशको ग्यास आपूर्ति कायम राख्न अरु विकल्प खोजिरहेको छ। 

जर्मन ग्यास कम्पनीहरुले रुसको ग्यास आपूर्तिमा आएको कमी र भावी कदमहरुका लागि रोडम्याप तयार गर्नेबारे सरकारसँग वार्ता गरिरहेको बताएका छन्।

पुटिनको आदेशअनुसार विदेशी खरिदकर्ताहरुले ग्यासको भुक्तानी गर्न रुसको गजप्रोमबैंकमा विशेष खाताहरु प्रयोग गर्नुपर्नेछ। उक्त आदेशमा गजप्रोमबेंकमा ग्यास खरिदकर्ताका तर्फबाट रुबल खरिद गरी सरकारको खातामा हस्तान्तरण गर्ने उल्लेख छ। रुससँगको सम्झौता अनुसार खरिदकर्ताहरुले अप्रिल र मेको दोस्रो त्रैमासिकमा अप्रिलमा आपूर्ति गरेको ग्यासको भुक्तानी गर्नुपर्नेछ। यस्तो अवस्थामा ती देशहरुले पनि ग्यास आपूर्ति कायम राख्न आफ्नो व्यवस्था मिलाउन समय पाउनेछन्। –एजेन्सी