-रेखा चन्द
काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा निक्षेप तथा कर्जासँग सम्बन्धित प्रडक्टहरुमा नवीन युगको सुरुवात गरेको एनआइसी एशिया बैंकले एकपछि अर्का चमात्कारिक फाइदा प्राप्त हुने प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । 

एनआइसी एशियाका नवीन प्रडक्टहरुको अवधारणा यति धेरै लोकप्रिय भइरहेका छन् कि अरु बैंकहरु समेत पछ्याउन बाध्य बनिरहेका छन् । 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभावको समस्या चर्को बनिरहेको बेला छरिएर रहेका निक्षेप संकलन गर्ने उद्देश्यले एनआइसी एशियाले अभूतपूर्व विशेषताले भरिएको निक्षेपको प्रडक्ट ल्याएको छ । यो प्रडक्ट सार्वजनिक भएको केही साता नबित्दै सर्वसाधारणको अचाक्ली आकर्षण देखिएको छ । 

एनआइसी एशियाले लामो अवधिका निक्षेप योजनाहरु सार्वजनिक गरिरहँदा एकातिर सर्वसाधारणले नसोचेको रिटर्न पाउने अवस्था बनिरहेको छ भने अर्कोतिर बैंकिङ उद्योगहरुमा हुने गरेको निक्षेप र लोनको मिसम्याचको समस्या समेत हल हुने अवस्था सिर्जना भएको छ । 

छोटो अवधिको निक्षेप संकलन गर्ने, तर लोन दिंदा चाहिँ लामो अवधिको दिने प्रवृतिले विगतमा बैंकहरु प्रताडित थिए । तर, एनआइसी एशियाले बजारमा ल्याएको नयाँ सोंच र नयाँ प्रडक्टले अरु बैंकलाई पनि लामो अवधिका स्रोत व्यवस्थापनमा अग्रसर गराएको छ । यसको परिणाम अहिले नेपाली बैंकहरुले पनि विकसित देशका बैंकहरुले जस्तै लामो अवधिको निक्षेप संकलनको सार्थक प्रयास अगाडि बढाएका छन् । सबै उद्योगलाई बाटो देखाउने काम चाहिँ एनआइसी एशियाले गरेको छ । 

एनआइसी एशिया बैंकले समयको माग र ग्राहकहरुको आवश्यकतालाई नजिकबाट नियालेर नेपाली बैंकिङ इतिहासमै नौलो निक्षेप योजनाको थालनी गरेको हो ।

यसअघि पनि बैंकले ग्राहकलाई थुप्रै सुविधासहितको योजना प्रदान गर्दै आएकोमा यसपाली ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सञ्चालनमा ल्याएको छ । यो निक्षेप योजनाले समग्र उद्योगमै नयाँ तरङ्ग ल्याइदिएको छ । 

बैंकले ल्याएको यो स्किममा सहभागी बन्ने समय लम्बिएर साउन मसान्तसम्म पुगेको छ । एनआइसी एशियाको नवीन सोंच र स्किममा सर्वसाधारणको अभूतपूर्व आकर्षण देखिएपछि अन्य बैंकले पनि यस्तै प्रडक्ट ल्याउने लहर नै देखिएको छ । 

यस्तो योजना अहिलेसम्म कुनै पनि बैंकले ल्याएको थिएन । 

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ अन्तर्गत निक्षेप राख्न चाहाने ग्राहकले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् । जसबाट निक्षेप रकमको १० गुणासम्म रकम पाउने ग्राहकलाई भविष्यमा उच्च ब्याजदरसहित अधिक फाइदा हुने देखिन्छ । बैंकले यो स्कीमअन्तर्गत रकम राखेका ग्राहकले २१ वर्ष ७ महिना १७ दिनमा आफूले राखेको रकमको १० गुणा रकम फिर्ता पाउनेछन् । उदाहरणका लागि अहिले ५ लाख रुपैयाँ राखेको खण्डमा २१ वर्ष ७ महिना १७ दिनमा १० गुणाले बढेर त्यो रकम ५० लाख रुपैयाँ पुग्नेछ । यदि १० लाख रकम राखेमा २१ वर्ष ७ महिना १७ दिनमा १० बढेर १ करोड पाईनेछ । 

एनआइसी एशियाले बीमाभन्दा आकर्षक योजना ल्याएपछि अहिले यसतर्फ ग्राहकको चासो अचाक्ली बढेको देखिन्छ । 

केही महिनाअघिसम्म धेरैमा १ वर्षसम्मको मुुद्दती निक्षेपको प्रडक्ट ल्याउने बैंकहरु स्रोतको समस्याबाट गुज्रिन थालेपछि डबल रिटर्न पाउने निक्षेप योजनातर्फ मोडिएका छन् । ब्याजदर बढेर निकै उच्चस्तरमा पुगेको बेला केही बैंकहरुले ६/७ वर्षभित्रै राखेको रकम डबल हुने मुद्दति योजना ल्याए पनि एनआईसीले भने निकै कदम अगाडि बढेर २१ वर्ष ७ महिनामा १० गुणाले आफ्नो रकम बढ्ने योजना ल्याएको हो । 

प्रायः गाउँघरका व्यक्तिहरुले भएको रकमलाई बढी व्याजको लोभमा गाउँमै ऋण दिएका हुन्छन् । जुन जोखिमपूर्ण हुन्छ । कतिपय घटनामा त्यसरी लगाइएको पैसा डूबेका पनि छन् । त्यस्ता व्यक्तिहरुका लागि समेत एनआइसी एसियाले राखेको रकम १० गुणा हुने गज्जबको प्रडक्ट विकास गरेको देखिन्छ । 

विगतमा बैंकहरुले निक्षेप १ वर्षका लागि मात्रै लिने र कर्जा लगानी २०-२५ वर्षसम्मका लागि गर्दै आएका थिए । जसबाट बैंकिङ क्षेत्रको स्रोत व्यवस्थापनमा मिसम्याचको समस्या बढ्दै गएको थियो । छोटो समयको निक्षेप लिँदा र लामो समयको लागि कर्जा लगानी हुँदा बैंकहरु जोखिममा परेको धारणासमेत विज्ञहरुले व्यक्त गर्दै आएका थिए । 

अहिले एनआइसी एशियाजस्ता बैंकहरुले लामो समयको लागि मुुद्दती निक्षेपको योजना ल्याईरहँदा मिसम्याचको समस्या कम हुने बैंकिङ विज्ञले बताएका छन् । 

बैंकले लामो समयका लागि डिपोजिट लिनसके मिसम्याचको समस्या कम हुने पूर्वबैंकर पर्शुुराम कुँवर क्षेत्री बताउँछन् । २-४ पैसा बढी ब्याज तिरेर लामो समयका लागि डिपोजिट लिनु राम्रो रहेको उनको भनाई छ । ‘बैंकहरुले लामो समयका लागि डिपोजिट लिन सके पहिलाको जस्तो मिसम्याचको समस्या आउँदैन ।’ उनले भने ‘नाफा कमाउने नाममा २५ देखि २७ प्रतिशतसम्म कल डिपोजिट लिएर बैंक चलाउने र १५-२० वर्षे लोन दिएको पनि देखिएको छ, तर त्यो तुलनामा २-४ पैसा बढी ब्याज तिरेर लामो समयको लागि डिपोजिट लिनु राम्रो हो ।’ 

साथै उनले बैंकले लामो समयको कर्जा दिने र लामै समयको लागि डिपोजिट लिने सुरुवात गर्नुलाई सुखद भनेका छन् । 

बैंकले बजार अनुगमन गरी १० गुणा बढीको प्रडक्ट ल्याएकाले राम्रै हुने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘उहाँहरुले बजार अनुगमन गरी यस्तो प्रडक्ट ल्याएकाले राम्रै होला ।’ उनले भने । यस्ता नवीन प्रडक्टहरु ल्याउन सके सर्वसाधारण समेत बैंकमा पैसा राख्न उत्प्रेरित हुने उनको भनाई छ । 

देशको कुना–कुनामा वित्तीय सेवा पुर्याउन सफल भएको यस बैंकमा कुल ग्राहकको संख्या ३० लाख रहेको छ । जुन अन्य बैंकको तुलनामा सबैभन्दा बढी हो । यस बैंकको देशभर शाखा सञ्जाल निकै ठूलो छ ।  अन्य बैंकको शाखा र एटिएमहरु नपुगेको स्थानमा समेत यो बैंकले सेवा दिंदै आएको छ ।

एनआइसी एशियाले सेवा बिस्तारदेखि प्रडक्ट डिजाइनसम्ममा अपनाएको नवीन शैलीका कारण छोटो अवधिमै बैंकिङ उद्योगकै बलियो वित्तीय संस्था बन्ने सफलता प्राप्त गरिसकेको छ । पछिल्लो समय त नाफा, निक्षेप तथा कर्जाको आकार लगायतका प्रमुख वित्तीय सूचकमा यो बैंकले धेरै बैंकहरुलाई पछाडि पारिसकेको छ ।