काठमाण्डौ । देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनको राजधानीमा रौनक छाएको छ । नाकाबन्दी खुलेपछि चलायामान बनेको काठमाण्डौको चहलपहल तथा आर्थिक गतिविधि समेत महाधिवेशन प्रतिनिधिहरुको प्रवेशको लर्को, विभिन्न पदमा उम्मेद्वारी दिने तयारीमा रहेका नेताहरुको निर्वाचन तयारी, कार्यकर्ता परिचालनका कारण ह्वात्तै बढेको छ । त्यो भन्दा बढी नेताहरुको भड्किलो प्रचार शैली र जताततै प्रचार प्रसारका लागि टाँगिएका फ्लेक्सहरुले काठमाण्डौ रंगीचंगी बनेको छ ।

राजधानीमा मानिसको बढी आवतजावत हुने क्षेत्रका घरका भित्ताहरु कुनै बाँकी राखिएका छैनन् । सबैमा कुनै न कुनै नेताले भोट मागेको फ्लेक्स प्रिन्ट भेट्न सकिन्छ । हुँदा हुँदा थापाथली चौकमा रहेको आफ्नो घरमा केन्द्रीय सदस्यका एक उम्मेद्वारले घरकै साइजजत्रो ठूलो फ्लेक्स प्रिन्ट नै लर्काइदिएका छन् । विभिन्न क्षेत्रमा कांग्रेसको चारतारे झण्डा लहरै राखिएका कारण दृश्य निकै झकिझकाउ समेत देखिएको छ ।

राजधानीको भृकुटीमण्डप, बागबजार, नयाँ बानेश्वर, पुरानो बानेश्वर, महाराजगञ्ज, अनामनगर, सुन्धारा लगायतका क्षेत्रहरुमा कार्यकर्ताको मेला लागेको छ । देशकै सबैभन्दा ठूलो मानिएको प्रदर्शनीस्थल भृकुटी मण्डप आसपासका चिया तथा चमेना पसलहरु कार्यकर्ताहरुबाट कब्जा गरिएका छन् भने कतिपय पसलभित्र र अगाडि टेबल राखेर उम्मेद्वारहरुले आफ्नो सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् ।

सम्पर्क कार्यालयसँगै उम्मेद्वारहरुले जहीँतही ठूला ठूला फ्लेक्स प्रिन्ट बनाई भित्ताहरुमा प्रचार सामाग्री टाँगेका देखिएको छ । सानादेखि ठूला नेतासम्मले पनि फ्लेक्स प्रिन्ट र भिजिटिङ कार्ड साइजको पर्चा बनाई राजधानी भित्रिएका महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्ने क्रमलाई तीव्र बनाएका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको राजधानी आगमन बढेसँगै यहाँको व्यापार व्यवसाय समेत गुल्जार बन्दै गएको छ । कार्यकर्ताको आवासको व्यवस्था गरिएका सुन्धारा, बागबजार लगायतका क्षेत्र मात्र होइन, भृकुटीमण्डप, बानेश्वर, बिजुलीबजार, बबरमहल, तीनकुने, महाराजगञ्ज, बसपार्क लगायतका क्षेत्रको होटल तथा लज व्यवसाय समेत खूबै चम्किएको छ ।

कार्यकर्ताको नास्तापानीमा समेत नेताहरुले लाखौं रुपैयाँ दिल खोलेरै खर्च गरिरहेका एक कार्यकर्ता बताउँछन । ‘कांग्रेसको चुनाव लड्नलाई अब हातमा दुईचार लाख नभई नहुने रहेछ ।’ ती कार्यकर्ताले भने–‘पैसाको खोलो बगाएको देख्दा इमान र निष्ठाको राजनीति गर्नेहरुको दिन गएछन् जस्तो लागिरहेको छ ।’

चुनाव आएको बेला भोट चाहिएका कारण अरुबेला आमनेसामने हुँदा समेत तर्किएर हिँड्ने नेता अहिले चाहि खोजी खोजी कार्यकर्ताको सामु हात जोड्दै हिडेको दृश्य धेरैका लागि रमाइलो बनिरहेको छ । ‘कांग्रेस नेताहरु सधैंभरि चुनावको जस्तै सहज, सरल भइदिए कति जाति हुन्थ्यो होला ।’ भृकुटीमण्डपमा भेटिएका ६५ वर्षीय एक कार्यकर्ताले भने–‘यसपटक कार्यकर्ताले आफ्ना सच्चा नेता छान्नेछन्, चुनावको बेला मात्र मीठो बोल्नेहरुलाई हामीले चिनेका छौ, हामी भेडाबाख्रा होइनौ ।’
कांग्रेस कार्यकर्ताहरुको विशेष गरी सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र शेरबहादुर देउवाको सम्पर्क कार्यालयहरुमा बढी भीडभाड लाग्ने गरेको छ । महामन्त्रीको उम्मेद्वारमध्ये अर्जुननरसिंह केसीको बागबजारस्थित हार्दिक होटलमा रहेको सम्पर्क कार्यालयमा बढी कार्यकर्ताको भीड देखिएको छ । सशांक कोइरालाको रुखो व्यवहारले कार्यकर्तामा राम्रै चर्चा पाइरहेको भेटिएको छ भने केसीको सरल व्यवहार र सबैका कुरा सुनिदिने धैर्यताको कार्यकर्ताले प्रशंसा गरिरहेका पाइएको छ ।
विभिन्न पदमा उम्मेद्वारी दिने नेताहरु अत्यन्त व्यस्त भएको अर्को क्षेत्र हो सञ्चार । विभिन्न नेताहरु आफ्नो प्रचार–प्रसारका लागि संचारका विभिन्न माध्यममा उपस्थित हुनका लागि भ्याइँ नभ्याइँ गरी दौडिरहेका भेटिएको छ । पत्रपत्रिकादेखि टेलिभिजन, रेडियोका पत्रकारहरु समेत नेताहरुलाई भेटेर उनीहरुको कुराको रिपोर्ट बनाउन भ्याई नभ्याई भएर लागिरहेका छन् । अन्य माध्यमभन्दा अनलाइन पोर्टलका पत्रकारहरुलाई महाधिवेशन बढी लागेको पाइएको छ । छिटो र प्रभावकारी माध्यम अनलाइन भएकोले समेत नेताहरुले यही माध्यमलाई प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छन् ।

कांग्रेस महाधिवेशनका कारण भूकम्प र नाकाबन्दीपछि ठण्डाराम भएको काठमाण्डौका लज तथा होटेल संचालकले कारोबार बढेका कारण राहातको सास फेरेका छन् । यस्तै, काठमाण्डौका प्रिन्टिंग प्रेस तथा फ्लेक्स प्रिन्टर संचालकले समेत राम्रो आर्थिक उपार्जन गर्न सफल भएका छन् । समग्रमा कांग्रेस महाधिवेशनका कारण काठमाण्डौको आर्थिक क्षेत्र गुल्जार बनेको विश्लेषकहरु बताउँछन । चियानास्ता, खाना, आवास, दारुपानी तथा प्रचार प्रसारमा समेत राम्रै खर्च गरिएका कारण लाखौं पूँजी परिचालन भएको र यसले आर्थिक गतिविधिलाई सक्रिय पारेको बताइएको छ ।
पौडेलको आलोचना
सोमबार र मंगलबार कांग्रेस कार्यकर्ताबीच घुलमिल हुँदा धेरैले रामचन्द्र पौडेलको ठाडो र रुखो व्यवहारको आलोचना गरेका पाइयो । मंगलबार बागबजारमा भेटिएका एक युवा कार्यकर्ता भन्दै थिए–‘ बिहान रामचन्द्र पौडेलको घरमा पुगेर ‘जयनेपाल’ भनेको उत्तर नै फर्काएनन्, नमस्कार गरेँ, तर नमस्कार पनि फिर्ता आएन । यस्ता नेताले जितेर के गर्लान् खोई ?’ ती युवा कार्यकर्ता आफ्नो सर्कलमा महामन्त्रीका उम्मेद्वार अर्जुननरसिंह केसीको मीठो व्यवहारको खुलेर प्रशंसा गरिरहेका थिए । उनले देउवाको समेत कार्यकर्ताको कुरा सुन्ने शैली राम्रो भएको दाबी गरे । सशांकमा कार्यकर्ताको गुनासो सुन्ने धैर्यता नभएको र उनले सोमबार विभिन्न राष्ट्रिय टेलिभिजनमा दिएको अन्तर्वार्ता उनको चुनावी अभियानका लागि अनुत्पादक भएको समेत कतिपयले दाबी गरिरहेका थिए ।
यस्ता आलोचना, टिकाटिप्पणी र दाबीसँगै नेता तथा कार्यकर्ताहरु जोडघटाउमा समेत व्यस्त रहेका भेटिए । आफ्नो सर्कल, जात, क्षेत्र मिल्नेहरुलाई एकीकृत गरेर कतिपयले चुनावी अभियान संचालन गरिरहेका छन् भने कतिपयले मंगलबार बिहानसम्म भित्रिइसकेका करिब ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुलाई ठाउँ ठाउँमा भेटेर भोट मागिरहेका छन् । कतिपयले चाहि प्रचार प्रसारको अलग्गै टिम नै बनाई महाधिवेशन प्रतिनिधिलाई फोन गर्ने, एसएमएस गर्ने, सामाजिक सञ्जालमा उम्मेद्वारको कुराको प्रचार प्रसार गर्ने अभियान चलाएका छन् । राजधानीका सडक, भित्ता, लज, होटल, चिया तथा चमेना पसलदेखि सामाजिक सञ्जालका भित्ताहरु समेत कांग्रेसमय बनेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19