काठमाण्डौ ।  नेपाली बैंकिङ क्षेत्रको भेटेरान बैंकर तथा कुशल विश्लेषक राजनसिंह भण्डारीले शानदार कमब्याक गरेका छन् । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)बाट विदा भएको ८ महिनापछि उनले करिअरमै छलाङ मार्दै सोही बैंकको संचालक समितिको अध्यक्ष बन्ने सफलता पाएका हुन् ।

बैंकबाट सीइओको रुपमा कार्यरत रही विदा हुनुभन्दा एकमहिनाअघि बिजशालालाई दिएको अन्तरर्वार्तामा उनले आफ्नो यो शानदार कमब्याक र छलाङको विषयमा स्पष्ट संकेत गरेका थिए । 

‘मैले बैंकिङ सेक्टरमा फरक रोल खोजिरहेको छु । म यही सेक्टरमा रहन्छु र मुलुकमै पनि रहन्छु ।’ उनले सो क्रममा भनेका थिए–‘बैंकिङ क्षेत्र पनि मेरो एउटा छनौटको क्षेत्र हो । मैले मलाई बढुवा चाहियो भनेको छु ।’ 

उनको चाहना झै उनको शानदार बढुवा भएको छ । बैंकको सीइओबाट ब्रेक लिएको ८ महिनामै उनी सोही बैंकको संचालक समिति अध्यक्ष बन्ने भाग्यमानी पात्र बन्न सफल भएका छन् । 

सिटिजन्स बैंकको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले भण्डारीसहित ४ जनालाई संचालकमा निर्वाचित गरेको छ । संस्थापक समूहबाट भण्डारीसहित, प्रवलजंग पाण्डे, सजन शर्मा संचालक निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट सीता कार्की संचालक छानिएकी छिन् । 

केहीबेरअघि सम्पन्न संचालक समितिको बैठकले राजनसिंह भण्डारीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको बैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

सिटिजन्स बैंक भण्डारीकै पहलमा खुलेको हो । उनले करिब १२ वर्ष बैंकको प्रमुख कार्यकारी पद सम्हाले । करिब ८ महिनाअघि उनी बैंक व्यवस्थापकीय नेतृत्वबाट बाहिरिए ।

भण्डारीसँग नेपाल राष्ट्र बैंकमा काम गरेको लामो अनुभव पनि छ । उनी राष्ट्रबैंकको कार्यकारी निर्देशकसम्म भएर बाहिरिएका थिए ।

बैंकको निवर्तमान अध्यक्ष डा. शंकर शर्मा संचालकबाट बाहिरिएका छन् ।