-किरणकुमार श्रेष्ठ(प्रमुख कार्यकारी अधिकृत)-राष्ट्रिय वाणिज्य बैंक

वर्षभरिको क्रेडिट क्रञ्चको अवस्था । निक्षेप तान्न कतिपय बैंकहरुबीच भएको अस्वस्थ प्रतिस्पर्धा र ब्याज बढाबढको होडबाजी । यी र यस्ता सारा चुनौतिलाई छिचोल्दै राष्ट्रिय वाणिज्य बैंक खूद नाफा र नोक्सानी व्यवस्थापनअघिको नाफामा समेत नम्बर वान बैंक बनेको छ । यो उपलब्धि कसरी संभव भयो ?
-हामीले यो वर्ष सबै बैंकभन्दा माथि, ४ अर्ब ३२ करोडको मुनाफा आर्जन गर्न सफल भयौं । र, यहाँले भनेजस्तै यो वर्ष धेरै खालका चुनौतिहरु थिए । विशेष गरी लोनेबल फण्ड छैन भन्नेसमस्या थियो र क्रञ्चको समस्या पनि उस्तै थियो । तर, हामीलाई त्यस्तो समस्या कहिल्यै पनि परेन । गत वर्ष पनि हाम्रो यो वर्षको भन्दा राम्रो ढंगले कर्जामा वृद्धि भएको थियो । हामीले ८४ अर्बबाट एकैपटक १०६ अर्बमा पुगेको अवस्था थियो । त्यहीकारणले पनि सुरुवातदेखि नै त्यसले ठूलो ब्याज आम्दानी पनि भयो । गत वर्षको प्रभाव पनि पर्यो, यो वर्ष पनि हामीले टार्गेट गरेको ग्रोथ रेटभन्दा राम्रो प्रगति गर्न सफल भयौं । १२२ अर्ब पुर्याउँछौ भन्ने लक्ष्य थियो, टार्गेट मिट भयो । यसले हामी कन्सट्यान्ट्ली अगाडि बढिरहेका छौ भन्ने देखिन्छ। 

अर्को, डिपोजिटमा पनि हाम्रो धेरै ठूला उतारचढाव भएन । कन्सट्यान्ट्ली नै गयौं । डिपोजिटमा हामीले जति ब्याज खर्च गर्छौ भनेका थियौं, त्यसमा पनि हामी कायमै भयौ । 

तेश्रो पक्ष, हाम्रो लोनको यूटिलाइजेसन पनि बढेको छ । अरुबेला सरदर ७० प्रतिशत लोनको यूटिलाइजेसन हुनेमा यो वर्ष हाम्रो ९० प्रतिशतसम्म भयो । हामीसँग भएको फण्डहरु पनि राम्रो परिचालन भयो । अन्य शीर्षकतर्फको आम्दानी पनि सिग्नीफिकेन्ट रुपमा बढेको छ । 

हामीसँग खराब ऋणिहरु पनि छन्, त्यसमा हामीले १ अर्ब बढी असूलीको अपेक्षा गरेका थियौं, त्यसमा समेत हामी सफल भयौं । यी कम्पोनेन्टहरुका कारण हामी यो अवस्थामा आउन सफल भएका हौ । 

आगामी दिनमा पनि यो पोजिसनमा राष्ट्रिय वाणिज्य बैंक कायमै रहन्छ भनेर पनि विश्वास गर्न सकिन्छ ? त्यसका आधार के के हुन् ?
-एकदमै विश्वास गर्न सकिन्छ, किनभने यसका केही स्पष्ट आधारहरु छन् । यो वर्ष हामीले १२१ अर्बको डिपोजिटलाई बढाएर १६८ अर्ब पुर्याउने टार्गेट छ । यसबाट समेत हाम्रो आम्दानीमा कुन हिसाबले वृद्धि हुन्छ भन्ने सामान्य हिसाबकिताब गर्न सकिएला । यो वर्ष पनि हामीलार्ई लगानीयोग्य रकम(लोनेवल फण्ड) अभावको समस्या पर्दैन भन्ने देखिन्छ । बैंकिङ सेक्टरमै पनि पहिलाको भन्दा अहिले अवस्था सहज भएकोले त्यो अवस्थाले समेत हामीलाई सहज नै बनाइदिनेछ । सरकारकै पनि पूँजीगत खर्च समयमै हुने अवस्था छ, यी आदि कारणले आर्थिक गतिविधि बढ्ने र आर्थिक ग्रोथको कुराले समेत हामीमा सकारात्मक प्रभाव नै पर्छ भन्ने अपेक्षा छ । 

र, अर्को प्लस फ्याक्टर चाहि फेरि पनि उठाउनुपर्ने ऋण पनि प्रशस्तै छन् । यसपटक हामीले धेरै डिफल्टरहरु, भाका नाघेको ऋणिसँग कुराहरु गरिसकेका छौ । वार्ता चलिरहेको र नेगोसिएसनको अवस्था समेत भएकोले त्यसबाट पनि उत्साहप्रद रकम हामीसँग फेरि पनि हुन्छ । यसकारण यो वर्ष पनि हामीले नम्बर वान पोजिसनलाई कायमै राख्न सक्छौ । 

अबको एक वर्ष पछाडि मुख्य बित्तीय सूचकहरुमा राबा बैंकलाई कुन रुपमा हेर्न सकिएला ?
-हामीले यो वर्षका लागि पनि जे टार्गेट लिएका छौ, यो भनेको २८ वटा वाणिज्य बैंकमध्येकै हाइएस्ट टार्गेट हो । ग्रोथ रेटको हिसाबले हाम्रो टार्गेट नै हाइएस्ट होला । फेरि पनि निक्षेपको हिसाबले, कर्जाको हिसाबले, संचालन मुनाफा र खूद मुनाफाको हिसाबले पनि हामी १ नम्बरकै स्थितिमा हामी रहन्छौ । आजको पोजिसनबाट हामी तल झर्दैनौ । बरु अन्य केही इण्डिकेटरहरुमा पनि हामी पहिलो स्थानमा आउनसक्छौ । त्यो अनुसारको बजेट र योजना बनाएर काम गरिरहेका छौ । 

केही वर्षअघिसम्म समस्याग्रस्त बैंकको रुपमा थियो राबा । विदेशी पैसा ल्याएर समेत यसको बित्तीय उपचार गर्नुपरेको थियो । तपाईले नेतृत्व सम्हालेको २ वर्ष बढी समयमा बैंकले काँचुली फेरेको देखियो । परम्परावादी सोंचले ग्रस्त भनी टिप्पणी गरिने राबा बैंक पनि अब आधुनिक, समय सान्दर्भिक र निजी क्षेत्रलाई समेत टक्कर दिने बैंक बन्यो भन्न सकिन्छ ? 
-मैले यो अवस्थाको जगलाई बिर्सनुहुँदैन । यदि जगलाई बिर्सिएर माथिको मात्र कुरा गरेँ भने हिजोको साथी तथा जसले योगदान गर्यो उहाँहरुलाई पनि अन्याय हुनसक्छ, र त्यो यथार्थ पनि हुनसक्दैन । हामीले बित्तीय क्षेत्र सुधार कार्यक्रम आइसकेपछि त्यसले एक खालका जगहरु बसाल्यो । धेरैखालका समस्या सटआउट गर्यो र नयाँ थालनी गर्यो । त्यतिबेला धेरै रिपेयर र मेन्टेनेन्सको काममा बढी ध्यान गयो । ड्यामेज भएकोलाई ड्यामेज कन्ट्रोल गर्ने, नीति भएको ठाउँमा नीतिहरु नबनाउने, विसंगति भएको ठाउँमा विसंगति हटाउने, संस्थागत सुशासन नभएको ठाउँमा संस्थागत सुशासन कायम गर्ने, ट्रयाक बनाउने कामहरु त्यसबेला भयो । त्यसपछि आउने सरहरुले त्यसलाई टेकेर अब हामीहरु विजिनेशमा मुभ गर्नुपर्छ भनेर सुरुवात गर्नुभयो । त्यो सुरुवात गरेको ठाउँमा मैले केही आक्रामक नीति लिएँ । उहाँहरुले सुरुवात गरिसकेको कुरालाई मैले अग्रेसिभ रुपमा अगाडि बढाएँ । हिजोको जस्तो सिडी रेसियो ५० प्रतिशत, डिपोजिट राख्ने, प्रोफिट मात्र आए हुन्छ भन्ने कुरा मैले ठान्दै ठानिँन । यति धेरै रिसोर्सेस भएको बेलामा पनि हामीले यसलाई अधिकतम प्रयोग गरेर यही बजारमा अगाडि किन नजाने ? भन्ने सोंच आयो । प्रतिस्पर्धामा अगाडि किन नबढ्ने ? साच्चै बढ्यो भने हामी किन एक नम्बर बन्न सक्दैनौ ? भन्ने हुटहुट भयो । तपाईसँगै पनि यसअघिको अन्तर्वार्तामा मैले हामी एक नम्बर बन्छौ भनेरै उद्घोष गरेकै थिएँ । त्यसका यी आधार थिएँ र हामीले लक्ष्य प्राप्ति गरी छाड्यौं ।  

त्यही जगलाई टेकेर, त्यो सुरुवातलाई गति दिने काम मात्र मबाट भएको हो । ठूलै आकांक्षा राखेर अगाडि बढ्ने काम गरियो । त्यसमा हाम्रो संचालक समिति, यहाँको युनियन, कर्मचारी, मेरो आफ्नै माथिको टिम सबैको सामूहिक प्रयासले यो उपलब्धि हासिल भएको हो ।

नाफा आर्जनमा त एकनम्बर हुनुभयो । प्रविधिमा कहिले एक नम्बर बन्ने ?
-वास्तवमा कुनै पनि कामहरु गरेर सफलता पाएपछि त्यसलाई कायम राख्ने निकै ठूलो चुनौति हुन्छ । कतिपयले यही सफल अवस्थालाई पनि काकताली परेर आएको पनि भन्नसक्छन्। 

प्रणालीमा तरलताको समस्या थियो, अरुकोमा कर्जा लिन जाँदा महंगो ब्याजदर थियो, तर राबा बैंकमा सस्तो ब्याजदर भएको कारणले समेत एकनम्बर बन्न तपाईहरुलाई सहज भयो भन्दा रहेछन् कतिपयले ?
-हो ठ्याक्कै त्यही भन्छन् । यो सफलतामा निरन्तरता र दिगोपन भएन भने फेरि काकताली नै साबित हुन्छ । यो बिषयमा म एकदमै गम्भीर छु । यो नै अब मेरा लागि सबैभन्दा ठूलो चुनौति हो । आज यो कुरा तपाईले सोधिरहनुभएको छ, मेरा हरेक साथीहरुले सोधिरहेका छन्, हरेक मिडियाले सोधिरहेका छन् । झनै ठूलो चुनौति थपियो कि यसलाई कसरी कायम राख्ने ? त्यसो भए अब यही सफलता कायम कसरी हुन्छ त ? मैले अघि नै पनि फिगरहरुबाट भनिसकेँ । तर, त्योबाटै मात्र हुन्छ त ? भन्ने कुरा पनि होइन । बजार प्रतिस्पर्धी छ । टेक्नोलोजी, सेवा तथा कर्मचारी, जुनसुकै हिसाबले भए पनि अरु भन्दा एड्भान्स खोज्छन् ग्राहकले । हामी त्यो दिशामा अगाडि बढ्नुपर्छ । हामीले २ ३ वटा काम  गरिरहेका छौ, यसको परिणाम देखिनलाई एक डेढ वर्ष चाहि लाग्छ । 

के-के काम गरिरहनुभएको छ ?
-म आएपछि हामीले १२६० नयाँ कर्मचारीहरु लियौं । अब अझै हामी साढे ५ सय जति कर्मचारी लिँदैछौ । भनेपछि झण्डै साढे १७ सय नयाँ कर्मचारी लिन्छौ यो वर्षभरिमा । यी कर्मचारी भनेका युवा छन्, उत्साही र प्रविधिमैत्री पनि छन् । लोकसेवाको ६० हजार प्रतिस्पर्धाबाट २–३ सय मान्छे छान्छौ । अब उनीहरुलाई हामी प्रवेश गराउँदैछौ, उनीहरुलाई प्रशिक्षित गरेर लगेपछि त्यसले सकारात्मक परिवर्तन देखाउनेछ । 

अहिले हामीले भइरहेको सिस्टमले यत्रो ठूलो विजिनेश धान्छ कि धान्दैन । अथवा यो अहिलेको चाहना र मागहरु  छ, त्यसलाई अहिलेको प्रविधिले पूरा गर्न सक्छ कि सक्दैन भनेर हामीले सिस्टम अडिट र ग्याप एनलाइसिसहरु पनि गरिरहेका छौ । अब हामीले यो प्रविधिलाई कि त अपग्रेड गर्नुपर्यो कि त रिप्लेस गर्नुपर्यो, अनि मात्र प्रतिस्पर्धामा जान सकिन्छ भन्ने छ, यी कामहरु पनि अगाडि बढाइरहेका छौ । 

अर्को, हामीले स्टाफ कलेजसँग मिलेर म्यानेजमेन्ट अडिट र ओएनएम सर्भे पनि हामी गराइरहेका छौ । उहाँहरुसँग हाम्रो सम्झौता भएको छ, उहाँहरुले हामीलाई फस्ट फेजको रिपोर्ट पनि दिनुभएको छ । हामीले के भनेका छौ भने अहिलेको राज्यको पुनरसंरचनाको मोडेल एउटा भो, दोश्रो कुरा बजारको जुन खालको प्रतिस्पर्धा छ, र, अहिलेको चाहना र मागको कुरा पनि हेर्नुपर्छ । नयाँ प्रविधि आइरहेको छ । त्यस्ता कुराहरुलाई पनि र आउनसक्ने चुनौतिलाई धान्ने गरेर हाम्रो संगठनको संरचना कस्तो हुनुपर्छ । हाम्रो निर्णय प्रक्रियामा कहाँ–कहाँ ल्याकिङहरु छन् त । हामीले कुन ढंगले जनशक्तिलाई प्लानिङ गर्नुपर्छ, हाम्रो संरचना नै कहाँ–कहाँ परिवर्तन गर्नुपर्छ भनेर हामीले ठूलो खालको अध्ययन गरेर उहाँहरुसँग सम्झौता गरी ६ महिनादेखि अध्ययन भइरहेको छ । 

त्यसकारण यदि हामीले यी सबै सुधारका कुरामा अगाडि बढ्न सकेनौ भने हाम्रो यो वर्षको सफलता निरन्तर नहुन सक्छ, अनि यसले हाम्रो क्रेडिबिलिटी पनि घट्छ र अरुका लागि यो सस्तो गफको बिषय समेत बनिदिन्छ । तर, यसलाई हामीले सस्टेन गर्ने भन्ने धेरै कुरा छन् । 

यसरी विजिनेश प्लान, जनशक्तिको व्यवस्थापन, टेक्नोलोजीमा व्यापक परिवर्तन, संगठनात्मक संरचनामै आमूल सुधार र परिवर्तन लगायतका माध्यमबाट हामी पूर्ण रुपमा नम्बर वान हुन्छौ । हामी दीर्घकालसम्म यो पोजिसिनमा रहनसक्छौ । लङटर्म मिसन र भिजन लिएर अगाडि बढिरहेको छ यो बैंक, काकताली पर्ने वा परेको बिषय होइन भन्ने कुरा समेत म प्रमाणित गर्न चाहन्छु । 

पूर्ण सरकारी स्वामित्वको बैंक भएको हिसाबले सरकारले बजेटमार्फत लिएको आर्थिक समृद्धिको लक्ष्यमा यहाँहरुको अरुकोभन्दा बढी साथ र सहयोग रहनुपर्छ नै । तीबाहेक अन्य लोनहरुमा अन्य बैंकको तुलनामा तपाईहरुको प्रडक्टहरु कस्ता छन् ? कुनै नयाँ अवधारणाका प्रडक्ट पनि छन् कि ?
-हामी सरकारको पूर्ण स्वामित्वको बैंक भएको नाताले सरकारका प्राथमिकता तथा नीति र कार्यक्रमलाई हामीले टाइअप गरेरै जानुपर्छ, हामी जान्छौ । हाम्रो लक्ष्य मुनाफा कमाउने मात्र होइन, बैंकिङ क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि समेत हाम्रो प्रयास हुनुपर्छ । 

हामीले निकै ठूलो चेञ्ज आएको हाइड्रोको क्षेत्रमा निकै ठूलो फरक आयो । हिजो राष्ट्रिय वाणिज्य बैंकले जलविद्युतको लगानीको क्षेत्रमा हेर्ने कुरा र म आएको कुरामा सबैभन्दा ठूलो फरक नै हाइड्रो सेक्टरको लगानीमा देखिएको छ । हामीले यो शीर्षकमै निकै ठूलो फड्को मारेका छौ । म आएपछि पनि हाइड्रोमा ३ अर्बको लगानी निर्णय भएको छ । र, अहिले मेरो हातमा मात्रै यसपटक ३ अर्बको प्रोजेक्ट लिएर बसेर छलफल गरिरहेका छौ । यस्तै, पर्यटन र कृषिमा सरकारले तोकेको भन्दा बढी लगानी गर्न चाहन्छौ । यो क्षेत्र पनि गतिशील क्षेत्र हो, यो देशलाई चाहिने प्राथमिकताप्राप्त क्षेत्र हो ।

जलविद्युत, पर्यटन र कृषि क्षेत्र लगानीका लागि आकर्षक क्षेत्र हो । सरकारले प्राथमिकता नतोकेकै भए पनि लगानीका लागि नेपालको सन्दर्भमा यी आकर्षक क्षेत्र पनि हुन् । 

तर, यसो भनेर प्रतिस्पर्धामा अन्य खालका प्रडक्ट ल्याएनौ भने अगाडि बढ्न सकिन्न । चाहे ट्रेडिङ कुरा गरौं, चाहे उद्योगको कुरा गरौं । 

र, अर्को हामी जान चाहिरहेको भनेको अरुका लागि नयाँ होइन, तर हाम्रा लागि मात्र नयाँ । हाम्रो अर्को प्राथमिकता भनेको आइरन, स्टील र सिमेन्टमा हो । यी क्षेत्र यो वर्षको प्राथमिकता हो । यो वर्ष हेर्नुहोला, हामीले करिब करिब स्टील र सिमेन्टमा एकदमै कम छौ अहिले, यो पटक हामी उत्साहप्रद ढंगले पनि आउँछौ । त्यो ढंगले हामी अगाडि बढ्छौ । 

साना लोनका प्रडक्टहरु पनि ल्याउनुपर्ला । बजेटमार्फत प्रमाणपत्र राखेर शैक्षिक लोन दिने लगायतका नीति पनि आएका छन् । यो बिषयमा तपाईहरुको के छ तयारी ?
-शैक्षिक लोनको बिषयमा मन्त्रालयमा एउटा कार्यदल बनेको छ, त्यसमा हाम्रो तर्फबाट समेत प्रतिनिधि पठाएका छौ । त्यो कुरा यो हप्ताभित्रै निर्णय होला । हाम्रो डेपुटी सीइओ नै त्यो समितिमा हुनुहुन्छ । अन्य साना लोनहरुको बिषयमा समेत हामी नीति बनाउँछौ । निश्चित रुपमा हामी साना लोनका प्रडक्टहरुमा पनि जान्छौ । 

कर्जा लिँदा राष्ट्रिय वाणिज्य बैंकमा निकै ढिलासुस्ती व्यहोर्नुपर्छ भन्ने गुनासो समेत सुन्ने गरिन्छ । त्यसलाई चाहि कहिले सुधार गर्ने ?
-आम रुपमा र बारम्बार आउने गुनासो नै यही हो । हाम्रो कर्जा निर्देशिका र कर्जा नीति अलिक टाइट खालकै छ । सरकारी बैंक भएको नाताले समेत हामी बढी गम्भीर छौ । हामीलाई हेर्ने निकाय धेरै छन् र धेरै निकायप्रति हामी जिम्मेवार छौ । 

दोश्रो कुरा, अघि मैले साढे १७ सय भन्दा बढी नयाँ कर्मचारीको भित्र्याउने कुरा गरेको थिएँ, यसबाट समेत कति धेरै मान्छेको ग्याप रहेछ भन्ने कुरा पनि बुझ्नुपर्यो नि । एउटा संस्थाले तीन वर्षभित्र १६ सय भन्दा बढी मान्छे लिने भनेको यो त निकै ठूलो कुरा भयो । हामी एउटा ठूलो संक्रमणकालीन अवस्थामा पनि थियौं । विद्यमान नियमले कर्मचारी आउट हुने कुरा, भर्ना हुन टाइम लाग्ने कुराले गर्दा यो बीचको अवधिमा गुनासो अझ बढ्यो। 

मलाई बेला–बेला लाग्छ यदि यो ग्याप पनि नभएको भए हामीले अझै कति प्रगति गथ्र्यौ होला ? हामी कति शक्तिशाली हुन्थ्यौं होला ? हाम्रो छवि कति माथि हुन्थ्यो होला ?

यसका लागि हामीले अहिले सबै प्रोसुडियरहरु रिभाइज गरिरहेका छौ । किनभने कतिपय प्रक्रियाहरु हिजोको दिनमा लगानी नगर्ने, असूलीमा ध्यान दिने भन्ने कुरामा बनेका नीतिहरु समेत छन् । हिजोको प्राथमिकता नै त्यही थियो । हिजोको दिनमा बिग्रिएको धेरै कुरा थियो, असूलीमै ध्यान केन्द्रीत थियो । त्यही भएर हामीले लगानीसँग सम्बन्धित ५–७ वटा निर्देशिकाहरु परिमार्जन गर्ने बाटोमा गएका छौ । त्यसलाई हामीलाई समयसापेक्ष बनाउँदैछौ । 

र, यो वर्ष हामीले १० वटा शाखालाई स्मार्ट बनाउँदैछौ । त्यहाँबाट स्मार्ट बैंकिङ सुविधा दिने हिसाबले काम अगाडि बढाइएको छ । अब वाणिज्य बैंकलाई कस्तो बनाउने भन्ने नमूना हामी ती शाखाबाट पेश गर्दैछौ । तीन वर्षभित्रमा राष्ट्रिय वाणिज्य बैंकको मुहार फेर्छौ हामी । तीन वर्षभित्र सबै शाखालाई स्मार्ट बनाउँछौ । 

तेश्रो, अहिले आएको नयाँ जनशक्तिलाई पहिलो दिनदेखि नै विजिनेश र अहिलेको सर्भिसमा बढी केन्द्रीत गर्छौ । जनशक्ति पनि नयाँ आउने, प्रविधिमा पनि फड्को मार्ने, र हाम्रो नीतिले पनि कतिपय ठाउँमा बाधा पुर्याएको छ । यी सबै कुरामा रिफर्म भएपछि हामी अझै प्रतिस्पर्धी बन्नसक्छौ भन्ने छ । अरुले जसरी छिटोछरितो भनेको छ, त्यसमा पनि हामी जानसक्छौ, यो योजना पनि हामीसँग छ । 

प्रतिस्पर्धी बजारमा धेरै बैंकहरु अझै पूँजीवृद्धिको बाटोमा छन् । १० अर्ब भन्दा माथि पूँजी पुर्याउने बाटोमा धेरै वाणिज्य बैंक अगाडि बढिसकेका छन् । तपाईहरुको योजना के छ ? शाखा बिस्तारमा तपाईहरुको योजना कस्तो छ ?
-एनआइडिसी आइसकेपछि हाम्रो चुक्तापूँजी ९ अर्ब बढी पुगिसकेको छ । तर, अहिले तत्काल पूँजीवृद्धिको योजना छैन । असार मसान्तसम्म हाम्रा शाखा २०५ वटा थिए, अब हामी २३८ वटा शाखा यही वर्षभित्र पुर्याउँदैछौ । यो वर्ष थप ३३ वटा नयाँ शाखा वृद्धि गर्दैछौ । 

बैंकिङ भविष्य कस्तो देख्नुभएको छ ?
-नेपालको बैंकको भविष्य राम्रो छ । सकारात्मक छ, प्रतिस्पर्धा छ, बिस्तारै स्वस्थ प्रतिस्पर्धा हुँदै गइरहेको छ । अब बैंकहरु शहरमा मात्र बसेर हुँदैन गाउँ प्रवेश गर्नुपर्छ भन्ने आइरहेको छ । 

गाउँमा शाखा खोलेर बैंकहरु टिक्लान् ? विजिनेश आउँछ ?
-रिलेटिभ्ली बोल्नुपर्छ यसमा हामीले । केही शाखाको कुरामा बोल्ने हो भने नेगेटिभ उत्तर हुनसक्छ । पहाडी क्षेत्रका धेरै ठाउँ सकारात्मक छन् ।  १६ वटा हिमाली जिल्लाका गाउँहरुमा खोलिएका करिब ४० वटा शाखा सस्टेनेबल छैनन् । त्यसपछि मध्यपहाडमा आइसकेपछिका शाखाहरु सस्टेनेबल छ, प्रोफिट मेकिङ छैन । त्यसपछि अलिकति तलतिर आइसकेपछि(चुरे भन्दा केही माथिको क्षेत्र) एकदम संभाव्य क्षेत्र छ । तराई जहाँसुकैको शाखा संभावनायुक्त छ । 

प्रादेशिक हेडक्वार्टरको अवधारणामा कसरी अगाडि बढ्नुहुँदैछ ?
-हामी जाँदैछौ । अहिले हाम्रो ५ वटा विकास क्षेत्रमा क्षेत्रीय कार्यालय छन् । अब हामीलाई धेरै ग्राहो परेन । ५ वटा पहिला छँदै थियो, अब २ वटा थप्ने हो । त्यसमा हामी जाँदैछौ । मौद्रिक नीति आइसकेपछि त्यसमा हामीले गृहकार्य गरिरहेका छौ । 

अन्तमा, राष्ट्रिय वाणिज्य बैंकले पब्लिकमा सेयर जारी गर्ने बिषय लामो समयदेखि अड्किरहेको छ । यसमा केही डेभलपमेन्ट छ ?
-सरकारले निर्णय गरेको छ । त्यो निर्णय अगाडि बढेको छैन । यो विषयमा चाँडै केही न केही आउला । 

यो पनि पढ्नुहोला :

‘हामी देशकै ठूलो बैंक बन्दैछौं’