काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् ।

निशंकोच भई भन्नुपर्दा बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो ।

हामीमध्ये अधिकांशले अनुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुने नोक्सानीको भागिदार अरु कोही नभई हामी स्वयम् नै हुनुपर्ने हुन्छ ।

तपाईको बीमा एजेन्ट वा सल्लाहकार तपाईलाई सही सूचना प्रदान गर्न र मार्गदर्शन पहिल्याउने मामिलामा तपाईको प्राथमिक स्रोत हुन् ।

जहाँ तपाईको एजेन्टले भित्री ह्रदयदेखि नै तपाईको हित चाहन्छ, त्यहीँ धोखा गरेर गलत बीमा भिडाएका कयौ उदाहरणहरु पनि बेला बेला आईरहन्छन् । त्यसैले कुनै पनि बीमा एजेन्ट वा प्वाइन्ट अफ सेल्स पर्सनबाट बीमा योजना खरीद गर्नुपूर्व निम्न प्रश्नहरु आफूले आफैलाई सोध्नुपर्छ । ताकि तपाईले खरीद गर्ने बीमा योजनाबारे तपाईले राख्नु भएका अपेक्षाहरु बारे तपाई स्पष्ट हुन सक्नुहोस् ।

–मेरो वर्तमान र भविष्यका आवश्यकताहरु के–के हुन् ?
–विश्वसनीय बीमा सल्लाहकारको उचित सिफारिस कस्ले गर्न सक्छ ?
–मेरो प्रिमियम राशीको सिमा कति छ ?

एजेन्टमार्फत बीमा योजना खरीद गर्नुअघि यी प्रश्नको जवाफ खोज्नु एकदमै महत्वपूर्ण हुन्छ । तपाईलाई उपयुक्त हुने बीमा योजना खरीद गर्नुअघि विभिन्न बीमा कम्पनी तथा सल्लाहकारसँग बसेर जानकारी लिन सकिन्छ । यहाँ हामी तपाईलाई कुनै एजेन्टले सही सल्लाह दिइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने भन्ने बारे पनि जानकारी दिंदैछौ । 

१. एजेन्टले आफूले गर्नुपर्ने सबै अनुसन्धान गरेको छ कि छैन ?

बीमाको आवश्यकता प्रत्येक व्यक्तिपिच्छे फरक हुुने गर्दछ । सम्भावित ग्राहकलाई बीमा योजना दिनुुभन्दा पहिले एउटा प्रतिबद्ध एजेन्टले आफ्नो सम्पूर्ण गृहकार्य गरेको हुनुपर्छ । त्यसैले यस्तो एजेन्ट छान्नुुस् जो तपाईको श्रेणीभित्र विभिन्न उत्पादनको बारेमा जानकार होस् । यसका साथै उनीहरुलाई तपाइका मनमा उब्जेका प्रश्नहरु सोध्नु पर्छ, जसले गर्दा तपाई पछि निर्धक्क भई आफ्नो बीमा प्रोफाइल एजेन्टलाई प्रदान गर्न सक्नुहुन्छ ।

सही सल्लाहकारले तपाइको वित्तीय आवश्यकता तपाइको प्रिमीयम भुुक्तानी गर्ने क्षमतालाई सही तरिकाले बुझेको हुुन्छ । जसको परिणाम स्वरुप एजेन्टले तपाईलाई यस्तो प्रोडक्ट वा योजना खरीद गर्न सुझाव दिन्छ, जुन तपाईको आवश्यकता र क्षमता अनुरुप हुने गर्छ । 

२.राम्रा बीमा एजेन्टले तपाइको कुरालाई विशेष ध्यान दिन्छन

बीमा सल्लाहकार यस्तो हुनुपर्छ, जसले आफ्नो फाइदा हेर्नुभन्दा पनि तपाईको आवश्यकता पुरा गर्नतर्फ लागोस् । जसले इमान्दारिकताका साथ उपयुुक्त हुने योजना बारे जानकारी देओस् । राम्रो बीमा सल्लाहकारले आफ्नो सम्बन्धलाई सार्थक तुल्याउन आफ्नो ग्राहकलाई सधै उपयुक्त र फाइदाजनक सल्लाह दिने गर्छ । यसले दुवै पक्षलाई लाभ पुर्याउँछ किनकी तपाइको भविष्यको आवश्यकता बीमामार्फत परिपूर्ति गर्न एजेन्टले सही सल्लाह प्रदान गर्नै गर्छन । 

३.राम्रा एजेन्ट इमान्दार हुन्छन् 

एउटा लामो अवधिको योजनाका लागि एजेन्टको सल्लाह मान्नुभन्दा पहिले उसको विगतको कार्य अनुभवको बारेमा प्रश्न गर्नुपर्छ । जस्तै उसले पहिले कुन–कुन कम्पनीमा काम गरिसकेको छ र ती पूर्व कम्पनी छाड्नुको कारण के थियो ? यसले तपाईलाई एजेन्टले प्रत्येक बीमा प्रदायकसंग व्यतीत गरेको अवधिको बारेमा अनुमान लगाउन सजिलो पर्छ । यदि एजेन्टले पटक पटक कम्पनी बदलेको रैछ भने यसबारे तपाइले प्रश्न उठाउन सक्नुहुन्छ ।