काठमाण्डौ । राष्ट्रप्रमुखले बोलेको कुरामा सर्वसाधारण नागरिकले विश्वास राख्ने कि नराख्ने ? धेरैको उत्तर हुनसक्ला, निश्चित रुपमा राख्ने । तर नेपालमा बसेर यहाँको नागरिक भएर राष्ट्रप्रमुखले बोलेको कुरामा तपाईंले विश्वास राख्न थाल्नुभयो भने तपाईंलाई धोका पनि हुनसक्छ । यस्तै भइदियो अछामका राउटेहरुलाई ।
राष्टपति विद्यादेवी भण्डारीले केही समयअघि राउटेहरुलाई दिएको वचन पूरा नभएपछि भोकभोकै परेका अछामका राउटेहरु विश्व काष्ठ मेलाको अवसर पारेर पुरानो वचन पूरा गरिदिने अनुरोधसहित काठमाण्डौ आइपुगेका छन् । राष्टपतिले बोलेको कुरा नै पूरा नभएपछि खिन्न भएका उनीहरु र बालबच्चाको भोको पेटले अछामबाट काठमाण्डौसम्म आउनुपर्ने बाध्यता परेको हो ।
ज्ांगलमा बस्दै आएका राउटेहरु ७ गते अछामबाट काठमाडौं आइपुगेका थिए । सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरु भएको विश्व काष्ठ मेला उद्घाटनको प्रज्ञा भवनभित्रको रौनकमा सबै मस्त भइरहँदा राउटेहरु भने भवन बाहिर काठबाट बनेका खाली कचौरा बोकेर एउटा स्टल कुरिरहेका थिए ।
तामझामका साथ सुरु भएको विश्व काष्ठ दिवस २०१६ उद्घाटन गरिसकेर बाहिर काष्ठकलाको स्टल अवलोकनका लागि निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एउटा कागज थमाउन राउटे मुखियाको छोरा हतारिँदै गए र आफूले अछामबाट बनाएर ल्याएको काठको कचौरासँगै केही कुरा लेखिएको पत्र समेत राष्ट्रपति भण्डारीको हातमा थमाउन सफल भए । राउटेले दिएको सो सामाग्री भण्डारीले पनि सहजै स्विकारिन् ।
राष्ट्रपति र राउटेबीचको यो भलाकुसारी र मिलन देखेर अरु भने तीन छक्क परे । मानौ उनीहरुबीच वर्षौअघिदेखि चिनजान छ । कुरा सत्य थियो । फागुन २ गते प्रधानमन्त्री केपी ओलीले आफ्नो निवासमा राउटेका मुखियालाई तीनलाख रुपैयाँ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनीहरुले सबैलाई एक÷एक मुरी चामल दिन आग्रह गरेका थिए । राष्ट्रपतिले ‘तपाईहरुले रासनपानी पाउनु हुन्छ’ भनेपछि खुशी हुँदै उनीहरु जिल्ला फर्किएका थिए । तर एकमहिनासम्म पनि राष्टपतिले बोले अनुसार रासनपानी नआउँदा तनावमा परेका उनीहरु सहयोगी संस्थाको सहयोगमा काठमाण्डौ आएका हुन्, राष्टपतिलाई पुरानो वाचा सम्झाउन र भोकाएका आफ्ना बालबच्चाको पेट भर्न ।
जानकारहरुका अनुसार राउटे उत्थान प्रतिष्ठान नेपालले विश्व काष्ठ मेलामा राष्टपति सहभागी हुने सूचना दिएपछि राउटेहरु काठमाण्डौ आएका थिए । पूर्व योजनाअनुसार नै राउटे समूहले राष्टपति भण्डारीलाई भेटेर रासनपानी दिने पुरानो वाचा पूरा गर्ने अनुरोधसहितको पत्र बुझाइएको हो ।
पूर्व प्रतिबद्धता पूरा नभएपछि राउटेहरु फेरि काठमाण्डौ आएको र आफूहरुसँग मागपत्र नै बुझाएको देखेर राष्ट्रपति भण्डारीले उनीहरुको माग पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी बताइएको छ । स्रोतका अनुसार यसपटक चाहि राउटे मुखियाका ५ छोराहरुले रासनपानीसहित अछाम फर्कन पाउनेछन् ।
-सन्तोषी अधिकारी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago