काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले घोषित लक्ष्य अनुसारकै खूद नाफा आर्जन गरेको छ । यो बैंकको व्यवस्थापनले आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब माथि खूद नाफा आर्जन गर्ने घोषणा गरेकोमा सोही अनुसार नाफा निकालेको हो । 

यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खूद नाफा ३ अर्ब ८ करोड पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा यो २ अर्ब ३५ करोड थियो ।

बैंकले यो अवधिमा ६ अर्ब ९८ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५४ करोडमा सीमित थियो । खूद ब्याज आम्दानीतर्फको झण्डै डेढ अर्बको प्रगतिले सरकारी स्वामित्वको बैंक व्यवसाय बिस्तारमा समेत आक्रामक बन्दै गएको देखिन्छ । 

अघिल्लो वर्ष १ अर्ब ७३ करोड रहेको संचालन मुनाफा बढेर २ अर्ब ६६ करोडको उचाईमा पुुगेको छ । यो अवधिमा बैंकले संभावित जोखिम बापत व्यवस्थाबाट मात्रै १ अर्ब २१ करोड फिर्ता ल्यााएको छ । कर्मचारी खर्च तथा बोनस खर्च अचाक्ली बढेको छ भने अन्य संचालन खर्चमा समेत बढोत्तरी भएको छ । कर्मचारी खर्चको प्रोभिजनमा निकै ठूलो रकम सञ्चित गर्दा र नियमित खर्च बढ्दा समेत यो बैंकले लक्ष्य प्राप्तिमा शानदार सफलता पाएको हो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरी ८५ अर्ब ४७ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले जगेडाकोषको आकारलाई अपत्यारिलो ढंगले बढाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म जगेडाकोषमा १ करोड ७२ लाख रहेकोमा सञ्चित रकम बढेर ३ अर्ब ११ करोड पुुगेको हो । यो हिसाबले जगेडाकोषको आकार १८० गुणाले बढेको छ । हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ५८ करोड रहेको छ । आर्थिक वर्ष २०७१/७२ मा यो बैंकको जगेडाकोष ऋणात्मक थियो । 

तीनवर्षको अवधिमा जगेडाकोषमा आएको सुधारलाई अपत्यारिलो आमूल परिवर्तन मान्नैपर्छ । समीक्षा अवधिमा बैंकले निस्क्रिय कर्जा असूलीमा विशेष ध्यान दिएको छ । यहीकारण अघिल्लो वर्षसम्म ४.२५ प्रतिशतमा सीमित निस्क्रिय कर्जा अनुपात घटेर २.३५ प्रतिशतमा झरेको हो । पूँजीको लागतमा समेत यो बैंकले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म १.३७ प्रतिशतमा सीमित यस्तो लागत घटेर १.२७ प्रतिशतमा झरेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यो बैंकको इपीपएस २७.४२ रुपैयाँ थियो ।