काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत वा सोभन्दा केही माथि नै राख्ने भएका छन् । 

अस्तित्वमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको केहीबेरअघि भएको अनौपचारिक बैठकले यस्तो सहमति गरेको हो । 

'राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये कसैले १० प्रतिशत वा कसैले त्यसभन्दा केही माथि नै ब्याजदर सार्वजनिक गर्ने तयारी गरेका छौं ।' एक विकास बैंकका सीइओले बिजशालासँग भने-'तर, ११ प्रतिशतभन्दा माथि नै भने ब्याजदर पुर्याउँदैनौं ।' 

ती सीइओले नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का नेतृत्वकर्ता बैंकरबीच ब्याजदरलाई सिंगल डिजीटमा राख्ने भद्र सहमति भएको बुझिए पनि केही वाणिज्य बैंकले त्यो नमान्ने संकेत प्राप्त भएको उल्लेख गर्दै उनीहरुभन्दा केही माथि नै आफूहरुले ब्याज अफर गर्ने प्रष्ट पारे । 

'एनआइसी एशिया र एनसीसी बैंकले १० प्रतिशतभन्दा माथि नै ब्याजदर अफर गर्दै नयाँ रेट सार्वजनिक गर्ने सूचना आएको छ ।' ती सीइओले भने-'यदि वाणिज्य बैंकले नै १० प्रतिशत ब्याजदर दिए भने हामीले १०.५ प्रतिशत त दिनैपर्छ, १०.५ प्रतिशत ब्याज पुर्याए भने हामी ११ प्रतिशतसम्म पुग्छौं ।' 

साना बित्तीय संस्थाहरुले आफूसँग भएको निक्षेप जोगाउनैका लागि भए पनि ठूलो संस्थाभन्दा बढी ब्याजदर दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । 

'असोजमा बित्त कम्पनीहरुले ८.५ प्रतिशत मात्र ब्याज दिने सहमति गरे, त्यसको परिणाम धेरैबाट निक्षेप विथड्रल भएर बिजोग अवस्था बन्यो ।' उनले थपे-'केही वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढी नै ब्याजदर अफर गरेपछि निक्षेप त्यता गयो । यसपटक वाणिज्य बैंकभन्दा थोरै ब्याजदर राखेर हामी पनि त्यही अवस्था आउन दिंदैनौं।'