– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कडाइ गरेपछि मार्जिन प्रकृति (सेयर धितो)को कर्जा प्रवाहमा भारी गिरावट आएको छ। 

सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेपछि राष्ट्र बैंकले एकाघर परिवार तथा संस्था सबैलाई सेयर धितो कर्जामा ४–१२ करोड रुपैयाँको क्याप लगाएको थियो। पछि राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ४ करोड रुपैयाँको क्याप सीमा हटाएर १२ करोड रुपैयाँको क्यापलाई भने यथावत राखेको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ साल असार मसान्तसम्म लगानीकर्ताले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँबराबर सेयर धितो राखेर कर्जा लिएका थिए। जब कि २०७८ भदौ २ गते बजारले हालसम्मकै उच्च विन्दु चुम्दा एकैदिन २२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। 

त्यतिबेला १ करोड रुपैयाँ माथिको सेयर धितो कर्जामात्रै ७३ अर्ब रुपैयाँ गएको थियो। ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२ अर्ब १ करोड रुपैयाँमात्रै गएको देखिन्छ। 

त्यसैगरी २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १३ अर्ब ३५ करोड रुपैयाँबराबर प्रवाह भएको थियो। २५ लाख रुपैयाँभन्दा तलको कर्जा जम्मा ७३ करोड ७७ लाख रुपैयाँमात्र गएको थियो। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भने चालु आर्थिक वर्ष २०७९–८०को चैत मसान्तसम्म सेयर कर्जा जम्मा ७५ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८–७९को चैत मसान्तसम्म पनि सेयर धितो कर्जा घटेर ९४ अर्ब ५९ करोड रुपैयाँ गएको देखिन्छ। 

अहिलेको तथ्यांकअनुसार मौद्रिक नीतिमा गरिएको कडाइपछि १ करोड रुपैयाँमाथिको सेयर धितो कर्जामा भारी गिरावट आएको छ। त्यस्तो कर्जा अहिले जम्मा ४३ अर्ब ९८ करोड रुपैयाँबराबर रहेको छ। यो भनेको २१ महिनाको अवधिमा १ करोड रुपैयाँ माथिको सेयर धितो कर्जा करिब ४१ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँले कम हो। 

तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा ११ अर्ब ५० करोड रुपैयाँबराबर प्रवाह भएको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १२ अर्ब ८१ करोड रुपैयाँमात्रै प्रवाह भएको छ। 

त्यसैगरी २५ लाख रुपैयाँभन्दा तलको सेयर धितो कर्जा ६ करोड ८० लाख रुपैयाँमात्रै प्रवाह भएको देखिन्छ। 

तथ्यांकअनुसार सानो कर्जामा भने खासै ठूलो परिवर्तन देखिँदैन ।