काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्त वित्तीय संस्थाले आज असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। 

नुवाकोटको ककनी गापा–६ जुरेथुममा रजिस्टर्ड कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोकको बनेपा नपा–१३ साँगामा रजिस्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी ‘आशा लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गरेको हो। साबिक आशा लघुवित्तको अध्यक्ष निर्गुणप्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुआत भएको कार्यक्रममा प्रमुख अतिथि रामबहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिबन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। 

कार्यक्रममा साबिक राष्ट्र उत्थान लघुवित्तकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य राखेकी थिइन्। शुभारम्भ कार्यक्रममा अतिथिहरु रमेशसिंह खड्का तथा शंकरप्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे। 

शुभारम्भ कार्यक्रमको सञ्चालन साविक आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका थिए। कार्यक्रममा दवै संस्थातर्फका पूर्वअध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रमुख अथितिर पाण्डे तथा कार्यक्रमका सभापति भट्टचनले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए। 

एकीकृत कारेबारपश्चात आशा लघुवित्तको चैत मसान्तको वित्तीय प्रतिवेदका आधारमा संस्थाको कुल चुक्तापुँजी रु. ६४ करोड १६ लाख १६ हजार, जगेडा कोष रु. २४ करोड ९९ लाख ६३ हजार ८७०, बचत संकलन रु. २ अर्ब ७५ करोड ३६ लाख १५ हजार ३२०, कुल लगानीमा रहिरहेको कर्जा रु. ८ अर्ब ७३ करोड १७ लाख ३७ हजार १९०, कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १ लाख २९ हजार ४४२, कुल ऋणी संख्या ७३ हजार ६०५ र कुल कर्मचारी संख्या ६१२ पुगेको छ।