– भक्तराज रसाइली 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सर्कुलरले दोस्रो बजारमा लघुवित्त कम्पनीहरुमा लगानी गर्नेहरुमा अन्यौलता सिर्जना भएको छ। 

राष्ट्र बैंकले भर्खरै लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद निष्कासन गर्न नदिइने सर्कुलर जारी गरेपछि त्यसको सोझो असर दोस्रो बजारमा खरिदबिक्री हुने लघुवित्त कम्पनीहरुमा पर्न थालेको हो। तर सरोकारवाला निकाय भने लघुवित्त कम्पनीहरुमा थप आकर्षण बढ्ने बताउँछन्।

लघुवित्त कम्पनीहरुले न्यून लागतमा अधिक मुनाफा कमाउने र लगानीकर्तालाई आकर्षक लाभांश दिने भएकाले दोस्रो बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको विशेष रुचि हुन्छ। राष्ट्र बैंकले ब्याजरदमा समेत १५ प्रतिशतको सीमा लगाइदिएपछि लागत बढी लाभांशमा प्रत्यक्ष असर पर्ने भएकाले समेत दोस्रो बजारमा लघुवित्त कम्पनीका सेयर फालाफाल पाउन थालिएको छ।

सीमित व्यक्ति र संस्थासँग लघुवित्तले निष्कासन गरेको सर्वसाधारणतर्फको सेयर दोस्रो बजारमा निकै लोभलाग्दो सेयरमूल्यमा खरिदबिक्री हुन्छ।

चुक्तापूँजी कम भएकाले समेत लघुवित्त वित्तीय संस्थाहरुले भारी मात्रामा हकप्रद निष्कासन गर्ने र हकप्रदमा लोभिएरसमेत लघुवित्त कम्पनीहरुको सेयरमूल्य दोस्रो बजारमा निकै आकर्षक हुन्छ। तर यही साता राष्ट्र बैंकले अबोप्रान्त हकप्रद सेयर निष्कासन गर्न नदिइने सर्कुलर जारी गरेपश्चात भने लगानीकर्तामा अन्यौलता थप बढाइदिएको हो।

हकप्रद निष्कासन गर्न राष्ट्र बैंकको निर्देशनका सम्बन्धमा थप स्पष्ट पार्न राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टसँग बिजशालाले राखेको जिज्ञासामा लघुवित्त संस्थाहरुलाई संख्यात्मकभन्दा पनि गुणात्मक वृद्धिलाई जोड दिने मर्जरको नीति ल्याइएको जानकारी दिए। ‘हिजोको दिनमा राष्ट्र बैंकले उदार ढंगले देशव्यापी पहुँच विस्तार गर्न लघुवित्त कम्पनीहरुलाई अनुमति दिइए पनि समयको मागअनुसार तथा बढ्दो दायरा र क्षेत्रलाई समेत पुनर्विचार गर्दा कमजोर लघुवित्त संस्थाहरु थप बलियो र मजबुत बनुन् भन्ने हाम्रो आशय हो’, भट्ट भन्छन्, ‘अल्पकालीन रुपमा लगानीकर्तालाई घाटाजस्तो देखिए पनि संस्था ठूलो हुँदा दीर्घकालमा लगानीकर्तालाई नै धेरै फाइदा हुन्छ।’

लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर गर्ने राष्ट्र बैंकको पहल निकै सकारात्मक भएको लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष बसन्त लम्साल बताउँछन्। हकप्रदकै नाममा कमजोर लघुवित्तको समेत दोस्रो बजारमा सेयरमूल्य बढाउने नियतलाई राष्ट्र बैंकको सर्कुलरले निरुत्साहित गरेको उनको ठहर छ। ‘मर्जरले लघुुवित्तहरु पनि थप बलियो हुने हुनाले हकप्रद निष्कासन गर्न नदिइने राष्ट्र बैंकको कदम सही नै छ तर निश्चित मापदण्ड भने कायम गर्नुपर्छ’, उनले भने।

दोस्रो बजारमा सक्रिय लगानीकर्ता केशव अधिकारी हकप्रद निष्कासनमा राष्ट्र बैंकको बन्देजले अल्पकालमा असर परे पनि दीर्घकालमा लगानीकर्तालाई निकै फाइदा हु्ने जिकिर गर्छन्। नेप्सेमा सूचीकृत अन्य सेक्टरभन्दा लघुवित्त समूहले नै अत्याधिक लाभांश दिइने भएकाले लघुवित्त कम्पनीका सेयरमा गरिएको लगानी सुरक्षित रहेको उनको दाबी छ।