काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरुले जारी गरेको निषेधाज्ञा परिपालन गरी बैंक तथा वित्तीय संस्थाहरुबाट सम्पादन गरिने आधारभूत बैंकिङ सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्डहरु कायमै रहने गरी यो विशेष आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको हो। यसका लागि विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्ना ग्राहकलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। 

यसैगरी एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्न र सोको निगरानी गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ। 

राष्ट्र बैंकले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबार (नगद भुक्तानी/जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङ आदि) सुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। 

खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेबसाइटमा अद्यावधिक गर्नुका साथै बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।