काठमाण्डौ । नेपाल बैंक लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चार महिनापछि नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। बैंकले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न बुधबार दरखास्त आह्वान गरेको हो । 

यसअघिका देवेन्द्रप्रताप शाह अवकाश पाएपछि गत चैतबाट बैंकको सीईओ पद रिक्त थियो । राष्ट्र बैंकको नियमानुसार तीन महिनाभित्र सीईओ नियुक्त गरिसक्नुपर्नेमा एक महिना ढिलो बैंकले सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

सीईओ हुन इच्छुकले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको ब्यक्तिले आवेदन दिन पाउने छन्। त्यस्तै चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रसासन वा कानुन विषयमा कम्तिमा स्नातक गरेकाको हकमा बैंकिङ क्षेत्र, सरकारी क्षेत्र, संघठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृतभन्दा माथिल्लो तहमा कम्तिमा पनि दश वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । 

आवेदकले कुनै पनि राजनितिक दलको सदस्य नभएको स्वघोषणा गर्नु पर्ने छ। त्यस्तै यस बैंकसँगको ठेक्कापट्टा तथा निजी स्वार्थ जोडिने कुनै पनि कार्यमा संलग्न नभएको हुनु पर्ने छ। भ्रष्टाचार, सम्पत्ती शुद्धिकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको हुनु हुँदैन। 

आवेदकले आफ्नो आवेदनका साथ ५ हजार शव्द नबढ्ने गरी व्यावसायिक योजना पेश गर्नु पर्ने छ। यस्तो योजना बनाउँदा नियम कानुनले निर्देशन गरेको परिधिभित्र रहेर तयार पार्नुपर्ने छ। 

आवेदन दिएकाको सम्पुर्ण विवरण हेरेर ५ जनालाई बैंकको सञ्चालक समितिले सर्ट लिस्ट गर्ने छ।  सरकारी स्वामित्व रहेको बैंकको प्रमुख कार्यकारी सञ्चालक समितिले नियुक्त गर्छ।

स्रोतका अनुसार सञ्चालक समितिले केही निजी बैंकहरुबाट अवकाश प्राप्त बैंकरहरुलाई नेपाल बैंक लिमिटेडको सीईओ बन्न प्रस्ताव गरेका थिए । तर कसैले पनि खासै चासो नदिएपछि बैंकले दरखास्त आह्वान गरेको हो ।  

नेपाल बैंक लिमिटेडकाका सीईओले मासिक पारिश्रमिक तीन लाख रुपैयाँ पाउने छन्। यसका साथै कार्य सम्पादनमा आधारित प्रोत्साहन रकम तथा अन्य सुविधा प्राप्त गर्नेछन् । 

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस् :