काठमाण्डौ । भारतका धनाढ्य व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले पहिलोपटक कम्पनीमा नेतृत्व परिवर्तन हुने संकेत दिएका छन्। 

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई)को रिपोर्टका अनुसार मुकेश अम्बानीले कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया उच्च तहका व्यक्तिहरुबाट सुरु हुनुपर्ने बताएका छन्। युवापुस्तालाई समेत अवसर मिलोस् भन्ने अभिप्रायका साथ आफुपनि यो प्रक्रियामा समावेश हुन चाहेको अम्बानीले बताएका छन्। 

६४ वर्षीय मुकेश अम्बानीले यसअघि पनि कम्पनीमा उत्तराधिकारी चयन गर्ने योजनाका बारेमा आधिकारिक रुपमा कुनै पनि बयान दिने गरेका थिएनन्। उनले रिलायन्स कम्पनीको नेतृत्व परिवर्तनको योजनामा काम भइरहेको बताएका छन्। 

मुकेश अम्बानीका तीन सन्तान छन्। उनका दुई सन्तान आकाश र ईशा अम्बानी जुम्ल्याहा हुन् भने अनन्त अम्बानी तेस्रो सन्तान हुन्। रिलायन्स समूहका संस्थापक धीरुभाई अम्बानीको जन्मदिनका अवसरमा ‘रिलायन्स फेमेली डे’ मनाइन्छ। 

रिलायन्स फेमेली डेका अवसरमा मुकेश अम्बानीले रिलायन्स इन्डस्ट्रिज लिमिटेड, हरित ऊर्जा सेक्टर, रिटेल तथा टेलिकम व्यवसायको आडमा भविष्यमा विश्वको सबैभन्दा शक्तिशाली र प्रतिष्ठित कम्पनीका रुपमा उभिने बताए। 

अम्बानीले भने, ‘ठूला सपनालाई पुरा गर्नका लागि तथा असम्भव जस्तै देखिने लक्ष्यहरु हासिल गर्नका लागि उपयुक्त व्यक्ति र नेतृत्व हुन आवश्यक पर्छ। रिलायन्स कम्पनी नेतृत्वमा परिवर्तनको योजनामाथि काम गरिरहेको छ। जसमा मेरो पिढीका वरिष्ठ व्यक्तिहरुदेखि लिएर अगाडिको पिढीका नौजवान नेतृत्वसम्म हुनेछन्।’

मुकेश अम्बानी नेतृत्व परिवर्तनको प्रक्रियामा तीव्रता आओस् भन्ने चाहन्छन्। रिलायन्सले अहिले तीन प्रकारको कारोबार गर्ने गर्छ। गुजरातको जामनगरमा रिलायन्स समूहको तेल प्रशोधन केन्द्र छ। समूहले रिटेल कारोबारमा समेत हात हालेको छ। यतिबेला टेलिकम र डिजिटल व्यवसायमा रिलायन्स समूहको कम्पनी ‘जियो’ मार्केट लिडरका रुपमा रहेको छ। – एजेन्सी