काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ।

बोर्डले आज शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई  जनाउँदछ।