काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंकको साधारणसभाबाट पारित भइसकेको सतप्रतिशत हकप्रद लगानीकर्ताले अन्ततः नपाउने नै भएका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल राष्ट्रबैंकको बाध्यकारी व्यवस्था अनुसार मर्जर वा एक्वीजिसनको विकल्प नभेटिएको अवस्थामा ल्याइएको सतप्रतिशत(१ बराबर १)को हकप्रदको प्रस्ताव ग्लोबल आइएमई बैंकमा गाभिने निर्णयपछि स्थगन गर्नुपरेको प्रष्ट्याएका छन् । उनले हकप्रद दिंदा भन्दा ठूलो बैंकमा गाभिँदा सेयरधनीले धेरै प्रतिफल पाउने दाबी गरेका छन् । 

‘विभिन्न बैंक तथा बित्तीय संस्थाहरुसँग मर्जर वा एक्वीजिसनका लागि खासै प्रगति नभएको कारणले तत्कालीन अवस्थामा केन्द्रीय बैंकले तोकेको चुक्तापूँजी पुर्याउन उद्देश्यले दशौं वार्षिक साधारणसभाबाट १ बराबर १ को दरले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृत गरे पनि मर्जर र एक्वीजिसनको प्रयास जारी थियो ।’ विज्ञप्तिमा भनिएको छ–‘ सोही क्रममा असोज १४ गते ग्लोबल आइएमई बैंकसँग प्राप्तिको सम्झौता भएको हो । बैंकले गत बर्षको नाफाबाट यस वर्ष २८.१४ प्रतिशत बोनस सेयर दिएपछि डिडिएले आउने सम्माजनक स्वाप रेसियोमा एक्वीजिसनमा जाने समझदारी भएको हो ।’ 

लोहनीले सेयरधनीको सेयर संख्या बढ्ने र रिलायवल बैंक ग्लोबल आइएमई बैंकमा गाभिएपछि बैंकको समग्र प्रतिफल नघट्ने दाबी समेत गरेका छन् । उनले लगानीको क्षेत्र सीमित रहँदा, विकास बैंक र फाइनान्सहरुको संख्या घट्दै जाँदा बैंकहरुबीच ज्यादै प्रतिस्पर्धा हुने र यस्तो अवस्थामा एक्वीजिसनमा नगई आफैं सतप्रतिशत हकप्रद जारी गरेर पूँजी पुर्याउँदा समेत सेयरधनीलाई उचित प्रतिफल दिनसक्ने संभावना नरहेकोले समेत एक्वीजिसनमा जानुु परेको प्रष्ट्याएका छन् । 

‘यही कारण प्रतिफल नआउने बाटो रोज्नु भन्दा उचित प्रतिफल दिने बैंकसँग मर्जर वा एक्वीजिसनमा जाँदा सबै सेयरधनीको लगानी सुरक्षित हुनुुको साथै भविष्यमा समेत उचित प्रतिफल पाउने देखियो ।’ लोहनीले विज्ञप्तिमा भनेका छन्–‘यसकारण हालको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको एक्वीजिसन प्रक्रियालाई अगाडि बढाउने विकल्प उचित देखियो ।’