काठमाण्डौ । सत्प्रतिशत हकप्रदको घोषणा गरी एकाएक ग्लोबल आइएमई बैंकसँग बिलय हुने सम्झौता गरेको रिलायवल डेभलपमेन्ट बैंकविरुद्ध लगानीकर्ता खनिएका छन् । 

लगानीकर्ताहरुले रिलायवल बैंकले लगानीकर्तालाई उल्लू बनाएको र संस्थागत जालसाजी गरेको भन्दै उनीहरुले घोषणा भइसकेको हकप्रद नदिए जस्तोसुकै कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

सेयर लगानीकर्ता संघ नेपालले सोमबार बानेश्वरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अधिकांश लगानीकर्ता रिलायवलको ठगीप्रति आक्रोशित देखिए । 

‘रिलायवलले लगानीकर्तामाथि बज्रपात प्रहार गर्यो ।’ लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने–‘वार्षिक साधारणसभाबाटै सतप्रतिशत हकप्रद पास गरेर त्यो प्रक्रिया नथाली एक्वीजिसनमा गएर ठूलै धोकाधडी भयो ।’ 

उनले घोषणा भइसकेको हकप्रद रियावललले लगानीकर्तालाई उपलब्ध नगराए कडा कदम चाल्ने चेतावनी समेत दिए । ‘लगानीकर्तालाई झुक्याएर गरिएको गैरकानूनी काम कुनै पनि हालतमा हुन दिंदैनौ ।’ लगानीकर्ताको तालीको गड्गडाहट आवाजको साथ पाएका उनले थपे–‘रिलायवलले पहिला वार्षिक साधारणसभा गरेर घोषित हकप्रद वितरण गरोस्, त्यसपछि उसले कोसँग के गर्छ हामीलाई सरोकार भएन ।’ 

अध्यक्ष अर्यालले रिलायवलले घोषणा गरेको हकप्रदको बिषयमा लगानीकर्ता एक इञ्च पनि पछाडि नसर्ने प्रष्ट पारे । ‘रिलायवलको यो फट्याईं सेयर बजार र आम लगानीकर्ताका लागि एउटा महाकाल प्रवृति हो ।’ अर्यालले भने–‘रिलायवलले छुट पाउने हो भने अरुले पनि यसैगरी लगानीकर्तालाई उल्लू बनाउँछन् अनि अहिलेको १७ सय माथिको नेप्से इण्डेक्स झरेर १ हजारमा पुग्ने निश्चित छ ।’ 

उनले रिलायवलले गरेको फट्याईविरुद्ध लगानीकर्ताहरु एकजुट हुनुपर्नेमा जोड दिंदै बजारको नियामक धितोपत्र बोर्डले समेत गम्भीर चासो दिनुपर्ने माग गरे । 

रिलायवल डेभलपमेन्ट बैंकले नेपाल बंगलादेश बैंकसँगको मर्जर टुटेपछि आफैं पूँजी पुर्याउने भन्दै सतप्रतिशत हकप्रद दिने घोषणा गरेको थियो । ७८ करोड ८० लाख चुक्तापूँजी भएको यो बैंकले सतप्रतिशत हकप्रद दिने भनेपछि यसको सेयरले पूँजीबजारमा केही दिनसम्म राम्रै कारोबार गरेको थियो । तर, लगानीकर्तालाई उत्साहित बनाएर बैंकले भने एकाएक ग्लोबल आइएमई बैंकमा बिलय हुने सम्झौता गरेपछि हकप्रदको आशामा लगानी गरेर बसेका लगानीकर्ता जिल्लिएका छन् । 

कार्यक्रममा अगुवा लगानीकर्ता, बजार विश्लेषक, संचारकर्मी लगायतले सेयर बजारमा लगानीको संभावना, बढी फाइदा हुने संभावित कम्पनी वा समूह लगायतको बिषयमा चर्चा गरेका थिए । उनीहरुले नेपालको सेयर बजारमा ऐतिहासिक संभावना रहेकोले यसमा सम्हालिएर लगानी गरे भविष्य उज्वल रहेको बताएका थिए ।