काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सको खूद नाफा घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा यो माइक्रोफाइनान्सले १ करोड १२ लाख खूद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो । 

खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४ करोड ६९ लाख खूद ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले यो वर्ष ५ करोड ३ लाख त्यस्तो आम्दानी गरेको छ । 

यो अवधिमा ४२ करोड ९३ लाख सापटी लिई तथा १६ करोड ३४ लाख निक्षेप संकलन गरी ४५ लाख ७० हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ करोड ५३ लाख सापटी लिई तथा ८ करो८ १५ लाख निक्षेप संकलन गरी ३५ करोड ८३ लाख कर्जा प्रवाह गरेको थियो । 
कम्पनीको संचालन मुनाफातर्फ पहिरो नै गएको छ । अघिल्लो वर्ष २ करोड ९५ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष १ करोड ७७ लाख मात्र कायम भएको छ । 

अघिल्लो वर्ष १.२५ प्रतिशतको अनुपातमा सीमित निस्क्रिय कर्जा बढेर यो वर्ष २.४१ प्रतिशतको उचाईमा पुुगेको छ । कस्ट अफ फण्डमा त झनै कहालीलाग्दो वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म ६.५० प्रतिशत रहेको कस्टअफ फण्ड बढेर यो वर्ष ९.६० प्रतिशत रहेको छ । यो निकै अत्यासलाग्दो अवस्था हो । 

माइक्रोफाइनान्सको यो अवधिमा प्रतिसेयर आम्दानी २० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १२४९.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९७.६९ गुणा कायम भएको छ । मूल्य आम्दानी अनुपात यति धेरै माथि हुनुु भनेको यो कम्पनी लगानीका लागि अनुपयुक्त रहेछ भन्ने बुुझ्नुपर्छ । सबै आर्थिक सूचकको हिसाबले यो माइक्रोफाइनान्स निकै जोखिमपूर्ण अवस्थामा रहेको देखिन्छ ।