काठमाण्डौ । युक्रेनमाथि सैन्य आक्रमणयता रुसका शीर्ष धनाढ्यहरुले ८० बिलियन डलर बढी गुमाएका छन्।

ब्लुमबर्ग इन्डेक्सका अनुसार राष्ट्रपति भलादिमिर पुटिनले युक्रेनलाई आक्रमण गर्ने निर्णय गरेयता रुसका शीर्ष २० धनाढ्यहरुको सम्पत्ति एकतिहाइले घटेको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुको रुसका कुलिन वर्गमा पारेको प्रभाव, रुसी मुद्रा रुबेलको पतन र विश्वचरका देशहरुको आक्रोशले विश्वभरका रुसी सम्भ्रान्त वर्गको युगको अन्त्य निम्त्याएको छ। 

रुसी धनाढ्य उस्मानोभ र इगोर सेचिनका दुईवटा ठूला आसलसान जहाज नियन्त्रणमा लिइएका छन्। यस्तै बेलायतका मन्त्रीहरुले बेलायतमा भएको रुसी सम्पत्तिहरु कब्जा गर्न माग गरेका छन्। 

रुसी विज्ञहरुले यो वित्तीय प्रभाव सुरुआतीमात्रै भएको बताएका छन्। गत सोमबार युरोपेली युनियनको आर्थिक काराबाहीमा परेका उस्मानोभलाई अमेरिकाले पनि कारबाकी गर्ने तयारी गरेको छ। ब्लुमबर्गका अनुसार उस्मानोभको सम्पत्ति १.७ बिलियन डलरले घटेको छ। 

अहिलेसम्म कारबाहीमा नपरेका रुसका सबैभन्दा धनाढ्य भ्लादिमिर पोटानिनको सम्पत्ति एक चौथाइले घटेको छ। उनको सम्पत्ति २५ बिलियन डलरमा सीमित भएको छ। 

सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा रुसी धनाढ्यमा जेन्याडी टिमचेन्को रहेका छन्। उनको सम्पत्ति २२ बिलियन डलरबाट घटेर ११ बिलियन डलर पुगेको छ। 

त्यस्तै रुसी ग्यास कम्पनी नोभाटेकका सीईओ लियोनिड मिखेलसनले १०.५ बिलियन डलरबराबरको सम्पत्ति गुमाएका छन्। 

यसैगरी अर्का धनाढ्य एलेक्सी मोर्डासोभको सम्पत्ति ५.६ बिलियन डलरले घटेको छ। फोर्ब्सका अनुसार १२ रुसी धनाढ्य बिलिनियर्सको सूचीबाट बाहिरिएका छन्। – एजेन्सी