काठमाण्डौ । गत मार्च महिनामा रुसमा कारको बिक्री ६० प्रतिशतले घटेको छ। 

रुसले युक्रेनमा आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय अटो कम्पनीहरु शोरुमहरु खाली गर्दै बाहिरएपछि रुसमा कारको बिक्रीमा व्यापक कमी आएको हो। 

युद्धले निम्त्याएको आर्थिक मन्दीको परिणामस्वरुप उपभोक्ताले आफ्नो खर्च अत्यावश्यक वस्तु खरिदमा केन्द्रित गरेका छन्। यसले समेत रुसमा कारको बिक्रीमा कमी आएको जनाइएको छ। 

टोयोटा मोटर कर्प र भोल्सवागेनजस्ता कम्पनीहरुले रुसमा आफ्नो उत्पादन बन्द गरेसँगै मार्च महिनामा रुसमा कारको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ। 

उपभोक्ताले न्यून अप्सन र उच्च मूल्यको सामना गरिरहनुपरेका बेला रुसी सरकार भने स्वदेशी उत्पादनलाई बढावा दिनतर्फ अग्रसर भएको छ। युरोप र जापानबाट हुने कार आयातलाई चिनियाँ र भारतीय मोडलले प्रतिस्थापन गर्ने देखिएको छ। 

रुसमा व्यवसाय बन्द गर्ने अन्तर्राष्ट्रिय अटो कम्पनीको संख्या बढ्दैछ। फोर्ड मोटर कर्प र होन्डा मोटरले रुसमा गर्ने गरेको कार र स्पेर पार्टको निर्यात बन्द गरेका छन्। 

त्यस्तै रेनल्टले पनि आफ्नो दोस्रो ठूलो बजारका रुपमा रहेको रुसमा उत्पादन बन्द गरेको छ। 

रुसका घरेलु कार निर्माता कम्पनीहरु विदेशबाट आयातीत सामग्रीमा निर्भर रहँदै आएका छन्। –एजेन्सी