काठमाण्डौ । युरोपेली युनियन (ईयू) ऊर्जाका लागि रुसमा धेरै निर्भर छ। रुसको राजस्व पनि ग्यास बिक्रीबाट आउँछ। यी दुई तथ्यलाई वर्तमान संकटबाट अलग गर्न सकिँदैन।

युक्रेनमा भएको आक्रमणपछि ईयूले रुसमाथि धेरै प्रतिबन्ध लगाएको छ। गत साता ईयूका नेताहरुले रसियाको केन्द्रीय बैंक र रुसी विमानहरुका लागि आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। यसबाहेक ईयूले युक्रेनलाई हतियार पनि पठाउँदैछ। 

यद्यपि, जर्मनीले रुसका लागि ग्यास पाइपलाइनको स्वीकृति निलम्बनबाहेक ईयूले रुसबाट ग्यास आयात गर्न रोकेको छैन।

युरोपमा ग्यासको मूल्य पहिलेदेखि नै बढेको छ। पुटिनलाई थाहा छ कि यदि रुसले ग्यासको आपूर्ति रोक्छ भने युरोपमा मूल्य आकासिनेछ। रुसले ग्यास आपूर्ति बन्द गर्ने वा कटौती गर्ने डर युरोपलाई छ।

ईयूका ऊर्जा मन्त्रीहरुको आपतकालीन बैठक सोमबार ब्रसेल्समा बस्दैछ। यो बैठकमा युक्रेन संकटको बीचमा ऊर्जा आपूर्तिका विषयमा छलफल हुनेछ। 

युरोपको ऊर्जा संकट अहिले आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा परिणत भएको बताइएको छ। पश्चिमा देशहरुले रुसले ‘ग्यास युद्ध’ छेडेको खुलेर आरोप लगाएका छन्।

युक्रेन संकटका कारण ग्यासको मूल्य पछिल्लो सात वर्षयताकै उच्च भएको छ। 

रसिया र साउदी अरेबियाबीचको साझेदारी पछिल्ला वर्षहरुमा नाटकीय रुपमा बढेको छ। रसिया र साउदी अरेबिया दुवै विश्वका सबैभन्दा ठूलो तेल उत्पादक हुन् र निर्यात निर्णयहरू नियन्त्रण गर्छन्।

अमेरिका र साउदी अरेबियाबीचको सम्बन्ध पहिलेको जस्तो छैन। जसको संकेत अमेरिकी राष्ट्रपति यसै महिना जो बाइडेनले साउदी अरेबियालाई तेल उत्पादन बढाउन आग्रहबाट प्रस्ट हुन्छ। यदि साउदीले यसो गरेको भए यसले मुद्रास्फीति र ग्यासको मूल्य घटाउनमात्र सहयोग पुर्याउने थिएन, यसले रुसको फाइदालाई पनि नियन्त्रण गर्ने थियो। तर, साउदी अरेबियाले यसलाई अस्वीकार गरेको थियो। –एजेन्सी