काठमाण्डौ । करिब एक महिना लामो अवधिपछि रुसको सेयर बजार पुनः खुलेको छ।
रुसले युक्रेनलाई आक्रमण गरेसँगै बन्द भएको रुसको सेयर बजार आजदेखि खुलेको हो। सेयर बजार सुचारु भएसँगै आज बेन्चमार्क मस्को एक्सचेन्ज(मोएक्स इन्डेक्स) सुरुआती सेसनमा १० प्रतिशतले वृद्धि भएको छ। यद्यपि रुसको केन्द्रीय बैंकले सर्ट सेल गर्न र विदेशी लगानीकर्तालाई सेयर बिक्री गर्न बन्देज लगाएको छ। सेयर बजारलाई तीव्र गिरावटबाट बचाउन र स्टकहरुलाई सहायता प्रदान गर्न केन्द्रीय बैंकले यस्तो प्रतिबन्ध लगाएको हो।
मस्कोमा लागानीकर्ताहरुले बिहान ९.५० देखि २ बजेसम्मको सीमित सेसनमा ३३ वटा स्टकहरु मात्रै किनबेच गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तोमा ब्लुुचिप स्टकहरु, गाजप्रोम, लुकोली, भीटीबी बैंक, स्बर बैंक, रुसल र रोजनेफ्टजस्ता स्टकहरु ट्रेड भइरहेका छन्।
युक्रेनमा आक्रमण सुरु गरेपश्चात सेयर बजारमा आएको पहिरो आउनअघि रुसको सेयर गत फेबु्रअरी २५ सम्म खुला थियो। युक्रेन आक्रमणको प्रभावस्वरुप रुसी सेयर बजार मोएक्स इन्डेक्स ३५ प्रतिशत र आरटीएस इन्डेक्स ४२ प्रतिशतले घटेका थिए।
रुसी सेयर बजार बन्द भएपछि पश्चिमा देशहरुले रुसमाथि प्रतिबन्धहरु लगाएका थिए। जसका कारण रुसको अर्थतन्त्र संकटमा परेको छ। अमेरिमी राष्ट्रपति जो बाइडेनले यसै साता गर्ने तय भएको युरोप भ्रमणमा थप प्रतिबन्धहरु घोषणा गर्ने अनुमान गरिएको छ।
नयाँ कानुनमा विदेशी लगानीकर्ताहरुलाई सेयर बिक्री गर्न रोक लगाइनुका साथै ब्रोकरहरुलाई समेत विदेशी लगानीकर्ताका तर्फबाट सेयर बिक्री गर्न रोक लगाइएको छ।
सन् २०२१ को पहिलो ६ महिनामा मस्को एक्सचेन्जमा विदेशी लगानीकर्ताहरुको करिब ८० प्रतिशतभन्दा बढी लगानी रहेको थियो। यसमा अमेरिका र क्यानडाका लगानीकर्ताको स्वामित्व ५४ प्रतिशत रहेको छ। यस्तै २२ प्रतिशत बेलायत र २१ प्रतिशत अन्य युरोपेली देशका लगानीकर्ताको लगानी रहेको छ।
रुसले सेयर बजार खुला गरेकोलाई बाइडेन प्रशासनले नाटक भएको जनाएको छ। अमेरिकाका नायब राष्ट्रिय सुरक्षा सल्लाहकार दलदीप सिंहले रुसले कृत्रिम रुपमा कम्पनीहरुको सेयरमूल्य बढाउन सरकारी सम्पत्ति सेयर बजारमा खन्याइरहेको आरोप लगाएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19