काठमाण्डौ । युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण रुस ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने देखिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा जारी भएका दुई ऋणपत्रमा लगानीकर्तालाई रुसले बुधबार ११ करोड ७० लाख डलर ब्याज तिर्नुपर्ने भएको छ। यी बन्डहरु डलरका लागि जारी गरिएको थियो। तर, रुसको ६३० अर्ब डलरको विदेशी मुद्रा सञ्चिती यतिबेला रोकिएको छ।

क्रेडिट मूल्यांकन एजेन्सीहरुले पनि रुस आफ्नो ऋण तिर्नमा डिफल्टर हुने चेतावनी दिएका छन्। 

अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसको ऋण तिर्न नसक्दाको असरप्रति चिन्तित रहेको तर यसले विश्वव्यापी वित्तीय संकट निम्त्याउनेमा विश्वास नगर्ने जनाएको छ। 

रुस ऋण तिर्न किन असफल हुन सक्छ ?

रुस सरकार र गजप्रोम, ल्युक आयल, स्बेर बैंकजस्ता सरकारी कम्पनीहरुमा विदेशी लगानीकर्ताको १५० अर्ब डलर ऋण छ।

यी अधिकांश ऋण डलर वा युरोमा भुक्तानी गर्नुपर्छ। तर, रुसी व्यापारिक संस्थाहरुले प्रतिबन्धका कारण विदेशमा आफ्नो डलर वा युरो खाताहरु प्रयोग गर्न सक्दैनन्।

यदि रुसले समयमै ऋण तिर्न असफल भयो भने यो १९९६ पछि पहिलोपटक डिफल्ट हुनेछ।

रुस सन् १९१७ को क्रान्तिपछि पहिलोपटक विदेशी मुद्रामा लिएको ऋण तिर्नका लागि डिफल्टर भएको थियो। त्यसपछि नयाँ बोल्सेभिक सरकारले अघिल्लो वर्षको ऋण तिर्न अस्वीकार गर्यो।

के हुन्छ यदि रुसले रुबलमा भुक्तान गर्छ ?

रुसको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय लगानीकर्तालाई डलर वा युरोमा भुक्तानी गर्न रोकिएमा रुबलमा तिर्न चाहेको जनाएको छ। यद्यपि बुधबार भुक्तान गर्नुपर्ने डलरमा जारी भएका दुईवटा ऋणपत्रमा अन्य मुद्रामा पैसा दिने व्यवस्था नभएकोले समस्या हुने देखिएको छ। तर, रुसका अन्य ऋण सम्झौतामा अन्य मुद्रामा भुक्तानी गर्न सकिने प्रावधान छ। तर, लगानीकर्ताले अपेक्षा गरेको डलर वा युरोको समान मूल्यमा रुबलमा भुक्तानी गरिन्छ कि हुँदैन भन्ने कुरामा निर्भर हुनेछ। 

रुसलाई ऋण दिने बैंक र देशहरुलाई के फरक पार्छ ?

रुसका लगानीकर्ताले हालैका समयमा उनीहरुको लगानीको मूल्यमा गिरावट आएको देखेका छन्। समस्या यो छ कि रुसको वित्तीय स्थिति यति चाँडै बिग्रिएको छ कि केही मानिसले आफ्नो लगानी बेच्ने मौका पाएका छैनन्।

क्रेडिट रेटिङ एजेन्सी मुडिजका अनुसार २१ विन्दुको रेटिङ स्केलले लगानीको हिसाबले देश कति सुरक्षित छ भनेर बताउँछ। रुस यो मापनमा तल्लोबाट दोस्रो स्थानमा आएको छ र यो अझै तल जान सक्छ।

मुडिजका प्रमुख क्रेडिट अफिसर कोलिन एलिसले भने, ‘हामीले संकेत गरिरहेका छौँ कि रसिया ऋण तिर्न नसक्नेमात्र होइन लगानीकर्ताहरुले कति गुमाउन सक्छ भनेर पनि बताइरहेका छौँ। लगानीकर्ताले आफ्नो लगानीको ३५ देखि ६५ प्रतिशतसम्म गुमाउन सक्छन्।’

विश्वव्यापी अर्थतन्त्रका लागि के अर्थ राख्छ ?

अन्तिमपटक रुसले १९९८ मा ऋण तिर्न असफल भएको थियो। त्यसपछि विश्वव्यापी वित्तीय बजार यसबाट हल्लायो। क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री विलियम ज्याक्सनका अनुसार यदि रुसले अहिले डिफल्ट गर्यो भने यो प्रतीकात्मक हुनेछ तर यसको वास्तविक प्रभाव भने कम हुनेछ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्धका कारण सन् २०२२ मा विश्व अर्थतन्त्रको प्रगतिको प्रक्षेपण ४.४ प्रतिशतमा झार्ने जनाएको छ। आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले पनि रुसको डिफल्टले विश्वव्यापी वित्तीय प्रणालीमा ठूलो असर नपर्ने विश्वास व्यक्त गरेकी छन्। यद्यपि उनले रुसमाथि लगाइएको प्रतिबन्धले त्यहाँको अर्थतन्त्रमा ठूलो पतन हुन सक्ने र विश्वभर खाद्यान्न र ऊर्जाको मूल्य बढ्न सक्ने चेतावनी दिएकी छन्। 

ऋण तिर्न नसक्दा रुसमा कस्तो प्रभाव पर्ला ? 

रुसले अहिले सामना गरिरहेको आर्थिक कठिनाइ र चुनौतीहरु ऋण तिर्न नसकेमात्रै बढ्नेछ।

युक्रेनमाथि आक्रमण हुनुअघि रुस ऋण चुक्ता गर्ने हिसाबले सबैभन्दा भरपर्दो देशहरुमा परेको थियो। रुसलाई ऋण धेरै थिएन। तर, अहिले स्थिति नाटकीय रुपमा परिवर्तन भएको छ।

ठूलो संख्यामा विदेशी कम्पनीहरुले रुस छोडिरहेका छन्। रुबल र अर्थव्यवस्था बचाउन रुसले पैसा बहिर्गमनमा कडा नियमहरु लगाएको छ। तर, प्रतिबन्धका कारण यो वर्ष रुसको अर्थतन्त्र ७ प्रतिशतले संकुचित हुन सक्छ।

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुअघि नै रुसको मुद्रास्फीति दर ९.१५ प्रतिशत थियो। यो वर्ष अझै बढ्न सक्ने आशंका छ।
रुसको केन्द्रीय बैंकले यसअघि नै कर्जाको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ। –बीबीसीबाट भावानुवादित