काठमाण्डौ । युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै रुसमाथि धमाधम अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन थालिएको छ। 

अमेरिकी डलरमा हुने रुसको तेलको व्यापार पनि घटेको छ। रुसले आफ्नो तेल र ग्यास बिक्रीका लागि नयाँ खरिदकर्ताहरु फेला पारेको छैन। यद्यपि, रुसलाई भारत र चीनबाट आशा छ। 

रुसले यस्ता खरिदकर्ताहरु खोजिरहेको छ, जोसँग सम्झौता गर्दा डलर वा युरोको आवश्यक नपरोस्। 

यसैबीच रुसलाई फ्रान्सबाट ठूलो झट्का लागेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी ग्यास खरिदका लागि रुबलमा भुक्तानी नगर्ने स्पष्ट पारेको छन्। रुबल रुसको मुद्रा हो।

अमेरिकी प्रतिबन्धपछि रुसलाई विश्वव्यापी तेलको व्यापार गर्न गाह्रो भएको छ। रुसले विशेषगरी युरोपबाट आफ्नो मुद्रामा ग्यासको कारोबार गर्न चाहन्छ। तर, रुसको माग फ्रान्सले अस्वीकार गरेको छ। 

पश्चिमी प्रतिबन्धका कारण रुसी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ। ब्रसेल्समा ईयूको बैठकपछि म्याक्रोनले भने, ‘जुन बुँदामा हस्ताक्षर भएको छ, त्यसमा एकदमै स्पष्ट छ। रुसको त्यो माग उसले भनेजस्तै हुँदैन।’ 

म्याक्रोनले युरोपेली क्षेत्रमा ग्यास खरिद गर्ने युरोपेली कम्पनीहरुले युरोमा सञ्चालन गर्नुपर्ने बताए। यस्तो अवस्थामा आज जे माग भइरहेको छ, त्यसलाई स्वीकार गर्न सम्भव छैन। यस्तोमा युरोपमा ग्यास संकट आउन सक्ने आशंका गरिएको छ।

ग्यासको ठूलो खरिदकर्ता जर्मनीले पनि रुसको मागको विरोध गरेको छ। चान्सलर ओलाफ स्कोल्जले सम्झौतामा उक्त माग नभएको स्पष्ट रुपमा उल्लेख रहेको बताए। 

वास्तवमा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरु रुसी ग्यासमाथिको आफ्नो निर्भरता घटाउने विषयमा गम्भीर रुपमा सोचिरहेका छन्। कतिपयले आयात पनि कटौती गरेका छन्। यसले रुसको अर्थतन्त्रलाई असर गरिरहेको छ। – एजेन्सी