काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशको प्रतिबन्धको सामना गरिरहेको रुसले कच्चा तेलका लागि नयाँ ग्राहक खोजिरहेको छ। यससँगै भारत आफ्नो सुविधा र आवश्यकताअनुसार यस्तो सम्झौतातर्फ अघि बढिरहेको छ, जसले महँगो कच्चा तेलको बोझ हट्ने मात्र नभई रुपैयाँको भाउ पनि बढाउनेछ। यी सबै कारणले गर्दा भारत रुससँग कच्चा तेल खरिद सम्झौता लगभग पक्का भएको छ। 

रुसी कच्चा सम्झौतामा डलरको सट्टा तेल भारतीय रुपैयाँ र रुसी रुबलमा भुक्तानी गरिने विशेष सर्त रहेको छ। यसका साथै भारतीय बन्दरगाहमा कच्चा तेल पठाउने ढुवानी र बीमाको जिम्मेवारी पनि रुसले वहन गर्नेछ। यसको मतलब भारतलाई दुई पक्षीय फाइदा हुनेछ। 

इन्टरनेसनल पेमेन्ट सिस्टम (स्विफ्ट)मा रुसको पहुँचमा रोक लगाइएपछि भारतीय रुपैयाँ र रुसी रुबलमा सम्झौता गर्ने कुरा भइरहेको हो । पश्चिमी देशहरुमा शाखा नभएका भारतीय बैंकहरुबाट भुक्तानी गर्न सकिन्छ। यसो भयो भने पेट्रो बजारमा डलरको एकाधिकार तोडिनेछ । चीनले पनि आफ्नो मुद्रा युआनमा कच्चा तेल किन्न साउदी अरेबियासँग वार्ताको अन्तिम चरणमा छ। वास्तवमा महँगो कच्चा तेलका कारण विश्वमा मुद्रास्फीतिको संकट छ।

यदि रुसबाट कच्चा तेल सस्तो आयो भने भारतमा पेट्रोल र डिजेलको मूल्य बढाउने दबाब कम हुनेछ। भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशत तेल आयात गर्छ। यसको २–३ प्रतिशतमात्र रुसबाट आउँछ।

यसैबीच अमेरिकाले भारतले रुसबाट कच्चा तेल लिएको खण्डमा आफूहरुलाई कुनै आपत्ति नरहेको प्रस्ट पारिसकेको छ। 

देशको सबैभन्दा ठूलो पेट्रोलियम मार्केटिङ कम्पनी इन्डियन आयलले रुसबाट सहुलियत मूल्यमा ३० लाख ब्यारेल कच्चा तेल खरिद गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ब्रेन्ट क्रुडमा २० देखि २५ डलरसम्मको छुटमा ट्रेडरमार्फत ल्याउने तयारी भइरहेको छ। –एजेन्सी