काठमाण्डौ । रुसले युक्रेनमा गरेको हमलापछि पश्चिमी देशहरुले कडा प्रतिबन्ध लगाएका छन्। यद्यपि, यसले रुसको सबैभन्दा महत्वपूर्ण उद्योग, ग्यास र तेललाई पूर्ण रुपमा समावेश गरिएका छैनन्।
युक्रेनमा भएको आक्रमणपछि रुसको अर्थतन्त्र, बैंकिङ प्रणाली र त्यहाँको मुद्रा निकै दबाबमा परेको छ। विश्लेषकहरुको अनुमान छ कि रुसको तेल निर्यातमा पूर्ण प्रतिबन्ध लगाए कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्न सक्छ।
उता युरोपले ग्यास, कोइला र तेलमा आफ्नो निर्भरता कम गर्न फरक बाटो लिन खोजिरहेको छ। युरोपियन युनियन (ईयू) ले हाल आफ्नो आधा ग्यास, कोइला र करिब एक तिहाइ तेल रुसबाट आयात गर्छ।
रुसमाथिको निर्भरता कम गर्न ईयूका नेताहरुको यो बिहीबार र शुक्रबार बैठक बस्दैछ। ईयूका नेताहरुद्वारा जारी विज्ञप्तिमा युक्रेनमा रुसको आक्रमणलाई प्रत्यक्ष रुपमा उल्लेख नगरी भनिएको छ, ‘युरोपेली इतिहासमा नयाँ इतिहास बन्ने क्रममा छ।’
विज्ञप्तिमा सन् २०३० सम्ममा विकास र लगानीका नयाँ मोडलहरु विकासित गर्नुका साथै ऊर्जाको आपूर्ति र मार्गमा विविधीकरण गर्न जोड दिइएको छ।
रुसको धम्की
पश्चिमी देशहरुबाट प्रतिबन्ध र चेतावनीपछि रुसले रुसी तेलमा प्रतिबन्धले कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्न सक्ने र जर्मनी जाने मुख्य ग्यास पाइपलाइन बन्द गर्न सकिने धम्की दिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिन अमेरिकाले आफू र त्यसका युरोपेली सहयोगीहरुले रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको छ। विश्वभर तेलको मूल्य सन् २००८ यताकै उच्च स्तरमा पुगेको छ। सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलर पुगेको थियो।
रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले ‘रुसी तेल अस्वीकार गर्दा विश्व बजारमा विनाशकारी असर पर्ने’ बताएका छन्। कच्चा तेलको मूल्य दोब्बर भएर प्रतिब्यारेल ३०० डलर पुग्न सक्ने उनको भनाइ छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेताहरुसँग छलफल गरी प्रतिबन्धका लागि समर्थन मागेका छन्।
यद्यपि अमेरिका साथ नपाए एक्लै अगाडि बढ्न सक्ने अनुमान गरिएको छ। तर, युरोपका अधिकांश देशहरु रूसी ऊर्जा स्रोतहरुमा निर्भर छन्। योसँगै अमेरिकाले रुसबाट ३ प्रतिशत तेल आयात गर्ने गरेको छ।
रुसबाट पाइपलाइनबाट ग्यास जर्मनी पुग्छ। गत महिना जर्मनीले दोस्रो ग्यास पाइपलाइन नोर्ड स्ट्रिम २ को प्रमाणीकरण रोकेको थियो।
रुसी नेता नोभाकले भने, ‘हामीसँग पनि यस्तै निर्णय गर्ने अधिकार छ, नर्ड स्ट्रिम १ ग्यास पाइपलाइनबाट ग्यास रोक्न सक्छ।’
रुसले कति तेल र ग्यास दिन्छ ?
रसिया अमेरिका र साउदी अरेबियापछि विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। विश्वको तेल आपूर्तिको लगभग ८–१० प्रतिशत रुसबाट आउँछ।
रुसले हरेक दिन ४० देखि ५० लाख ब्यारेल कच्चा तेल र ८ हजार ५०० अर्ब घनफिट प्राकृतिक ग्यास निर्यात गर्छ। यसको धेरैजसो हिस्सात युरोपमा जान्छ। रुसले युरोपियन युनियनमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ। जसको आपूर्ति अवरुद्ध भए विकल्प खोज्न सजिलो हुने छैन।
विश्व ऊर्जा बजारमा रुसको महत्वपूर्ण भूमिकाका कारण अमेरिका र युरोपेली संघले रुसको तेल र ग्यास उद्योगमा पूर्ण प्रतिबन्ध लगाउन सकेका छैनन्।
यसैलाई ध्यानमा राख्दै सोमबार जर्मन चान्सलर ओलाफ सुल्ट्जले रुसको तेल र ग्यासमा ठूलो मात्रामा प्रतिबन्ध लगाउने विचारलाई अस्वीकार गरेका छन्। उनले भनेका छन्, ‘युरोपले जानीजानी रुसी ऊर्जालाई प्रतिबन्धहरुबाट छुट दिएको थियो किनकि यो समयमा ऊर्जा आपूर्तिलाई अन्य तरिकाले बचाउन सकिँदैन।’
युरोपका देशहरुलाई तेलभन्दा बढी ग्यास चाहिन्छ। युरोपेली युनियनले ६० प्रतिशत ग्यास आयात गर्दछ। जसमध्ये ४० प्रतिशत रुसबाट आउँछ।
यदि रुसले युरोपलाई ग्यास आपूर्ति गर्न अस्वीकार गर्यो भने युरोपले ग्यास संकटको सामना गर्न सक्छ। यस्तो अवस्थामा युरोपले ग्यास प्राप्त गर्न अन्य उपाय खोज्नुपर्नेछ।
ब्रोगेल थिंक ट्यांकको अनुमानका अनुसार यदि रुसले युरोपलाई ग्यास आपूर्ति बन्द गर्छ भने ईयू देशहरुले पहिले नै भण्डार गरिएको ग्यासमा भर पर्नुपर्नेछ। जुन एक दशकमा सबैभन्दा कम स्तरमा छ।
युरोपेली देशहरुले अप्रिलमा तापक्रम बढेपछि जाडोमा प्रयोग गर्न सकिने गरी ग्यास भण्डारण गर्न थाल्छन्। यसको मतलब उनीहरूले ग्यासका लागि फरक स्रोत खोज्नुपर्नेछ।
यस्तो अवस्थामा यी देशहरुले उत्तर अफ्रिका र अजरबैजान जस्ता देशहरुबाट तरल प्राकृतिक ग्यास आयात गर्न सक्छन्।
यस्तो अतिरिक्त ग्यासको ठूलो मात्राले युरोपेली ग्यास क्षेत्रलाई दबाब दिनेछ र पहिले नै बढ्दो ग्यासको मूल्यलाई अझ बढाउनेछ।
रुसी तेलको विकल्प के होला ?
युरोपले तुरुन्तै रुसको तेल र ग्यास लिन बन्द गर्ने छैन तर अब युरोपेली देशहरुले रुसको तेल र ग्यास आपूर्तिका लागि विभिन्न विकल्पहरु खोज्नेछन्।
गत आइतबार ठूलो तेल कम्पनी शेलले रुसबाट कच्चा तेल खरिद गर्ने आफ्नो निर्णयको बचाउ गर्यो। युरोपमा तेलको आपूर्ति कायम राख्न रुसबाट तेल किन्न बाध्य भएको कम्पनीले जनाएको छ।
रुसको तेलमा सम्भावित प्रतिबन्धले यसको अन्य विकल्पहरुमा दबाब बढाउनेछ।
तेलको निर्वाध आपूर्तिका लागि अमेरिकाले साउदी अरबलाई यो हप्ता कच्चा तेल उत्पादन बढाउन दबाब दिन सक्छ। यससँगै इरानको आणविक सम्झौता अगाडि पनि बढ्न सक्छ। ता कि इरानको तेल निर्यातमा प्रतिबन्ध हटाउन सकिन्छ र तेल आपूर्ति यथावत रहन सक्छ। –बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago