काठमाण्डौ । रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनलाई कर छली र अन्तरराष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशंकामा फ्रान्सको प्रहरीले  गिरफ्तार गरेको हो । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि यूरोपेली यूनियन(ईयू) ले प्रतिबन्ध लगाएको छ । 

उनलाई सेन्ट–ट्रोपेजको रिभेरा रिसोर्टबाट गिरफ्तार गरिएको बताइएको छ । स्रोतका अनुसार प्रहरीले उनको पेरिसस्थित घरसहित उनीसम्बद्ध थुप्रै स्थानमा छापा मारेको छ । 

युक्रेनमाथि रुसी आक्रमणपछि ईयूले सन् २०२२ मार्चमा कुज्मिचेभलाई प्रतिबन्ध लक्षित रुसी नागरिकहरूको सूचीमा राखेको थियो । 

ईयूका अनुसार कुज्मिचेभको ठूलो हिस्सा रहेको अल्फा बैंक रुसको सबैभन्दा ठूलो करदातामध्येको एक हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट सम्बन्धका कारण कुज्मिचेभलाई ‘रुसको सबैभन्दा प्रभावशाली मानिस’ मा गनिन्छ ।

श्रोतका अनुसार फ्रान्सको भ्रष्टाचारविरोधी एकाइले विशेषरूपमा कर छली र अन्तरराष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन गरेकामा उनीमाथि अनुसन्धान गरिरहेको छ । 

ईयूको प्रतिबन्धका कारण फ्रान्समा पारिवारिक सम्बन्ध भएको दावी गर्ने कुज्मिचेभको स्वामित्वमा रहेको ५० लाख युरोभन्दा बढी मूल्यका दुई डुङ्गा सन् २०२२ मार्चमा सुरक्षा अधिकारीहरूले कब्जामा लिएका थिए । 

ब्यापारिक पत्रिका फोब्र्सले ६१ वर्षीय कुज्मिचेभलाई ६ अर्ब ४० करोड अमेरिकी डलरको कुल सम्पत्तिका साथ विश्वको ६१ औं धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ । -एजेन्सी