काठमाण्डौ । रुसको अर्थतन्त्रलाई नोक्सान पुर्याउन अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। उनीहरुले रुसी तेलमा प्राइस क्याप पनि लगाएका छन्। यसको मुख्य उद्देश्य रुसको आम्दानी घटाउनु रहेको छ। ता कि युक्रेनसँगको युद्धमा प्रयोग हुने रुसी फन्डमा कमी होस्।

साउदी अरेबिया र रुसको एउटा निर्णयले अमेरिकी प्लान फेल भएको छ। ओपेक र रुसले आफ्नो तेल उत्पादन प्रतिदिन लगभग ३६ लाख ब्यारेलले कटौती गर्ने निर्णय गरेका छन्। साउदी अरेबियालाई ओपेकमा प्रमुख मानिन्छ। ओपेक प्लस देशहरुले तेल उत्पादन प्रतिदिन करिब १६ लाख ब्यारेलले घटाउनेछन्।

यो निर्णयलगत्तै कच्चा तेलको मूल्य करिब ६ प्रतिशतले बढेको थियो। अमेरिका र जी–७ देशले लगाएको प्राइस क्यापका कारण अहिलेसम्म रुसले प्रतिब्यारेल ६० डलरभन्दा बढीमा तेल बिक्री गर्न सकेको छैन। तर, तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि रुसी तेलको मूल्य पनि ६० डलर नाघेको छ। 

जब अमेरिकाले रुसी तेलमा प्राइस सीमा तोकेको थियो तब यसले रुसको तेल उत्पादन वा राजस्वमा खासै प्रभाव पारेको थिएन। किनकि रुसी युराल तेल पहिले नै प्रतिब्यारेल ६० डलरको निश्चित मूल्यभन्दा तल व्यापार भइरहेको थियो। तर, अहिले युराल प्रतिब्यारेल ६० डलरभन्दा माथिको कारोबार भइरहेको छ। यो अमेरिका र पश्चिमी देशका लागि झट्का हो।

यस्तो अवस्थामा विश्वव्यापी तेलको मूल्य वृद्धिबीचमा रुसी तेल प्राइस क्यापको नियन्त्रणमा रहन्छ कि भनेर हेर्न रोचक हुनेछ। रुसले यस बहानामा प्राइस क्यापभन्दा बढी मूल्यमा आफ्नो तेल बेचेर आफ्नो राजस्व क्षतिपूर्ति गर्न चाहन्छ। जुन अमेरिकी प्रतिबन्धका कारण आफ्नो राजस्वमा गिरावट आएको छ।

साउदी अरेबियाको वर्चस्व रहेको ओपेक र रुसले तेल उत्पादन कटौती गर्ने निर्णयलाई अमेरिकी नेतृत्वमा रुसी तेलको मूल्य निर्धारणको परीक्षणका रुपमा हेरिएको छ। –एजेन्सी