काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रियस्तरको पूर्वाधार विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभाले रु. ८ अर्ब बराबरको आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको छ । 

योसँगै अब कम्पनीले ८ करोड कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने पहिलो बाटो खुलेको छ । वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएसँगै अब कम्पनीले सेयर निश्कासनका लागि आवश्यक अन्य प्रक्रियाहरु अगाडि बढाउनेछ । 

मंसिर २९ गते सम्पन्न वार्षिक साधारणसभाले चुक्तापूँजी रु.१२ अर्ब, प्रतिशेयर आम्दानी रु.६.१०, प्रतिशेयर नेटवर्थ रु.१०६.५७ रहेको बैंकले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फागुनबाट औपचारिक कारोबार प्रारम्भ भएको बैंकको साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.का लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनीलाई जानकारी गराएका थिए । 

नेपाल सरकारबाट मनोनित १ जना सञ्चालक बाहेक संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अन्य ३ जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम रहेको उक्त सभाबाट अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी आगामी ४ वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित सञ्चालक छन् ।

मुलुकभित्र तथा मुलुकबाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको यस बैंकले विदेशी वित्त बजारबाट अफसोर बण्ड जारी गरी रु. ५ अर्ब भित्र्याउने कार्य अघि बढाइसकेको छ । 

स्रोत परिचालनतर्फ २ वटा जलविद्युत आयोजनाहरुमा रु. ३ अर्ब लगानी स्वीकृत गरिसकेको छ भने सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुको पहिचान एवम् आवश्यक अध्ययन गरिरहेको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्यमै लगानी बिस्तार गर्दै जाने बैंकको योजना रहेको छ ।