काठमाण्डौ। फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले इलेक्ट्रिक–हाइड्रोजन हाईब्रिड कन्सेप्ट कारको विवरण सार्वजनिक गरेको छ।
विवरण सार्वजनिक गर्दै कम्पनीले विद्युतीय सवारीसाधनलाई थप आरामदायी बनाउन हाइड्रोजन प्रविधि एउटा राम्रो विकल्प भएको जनाएको छ। रेनल्टको ‘सिनिक भिजन’ कारको डिजाइनमा हाइड्रोजन इन्जिन, इलेक्ट्रिक मोटर, ब्याट्री, फ्युल सेल र हाइड्रोजन ट्यांक समावेश गरिएको छ। कम्पनीका अनुसार २.५ किलोको हाइड्रोजन ट्यांक, कारको अघिल्लो भागमा अवस्थित छ र यसलाई पूर्ण रुपमा भरिन ५ मिनेट लाग्छ।
कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा सिनिक भिजनमा प्रयोग गरिएको ४० किलोवाटको ब्याट्री पुनः प्रयोग गर्न मिल्ने र यसलाई फ्रान्समा सन् २०२४ सम्म उत्पादन गर्न मिल्ने जनाइएको छ।
सिनिक भिजनमा प्रयोग गरिएको हाइड्रोजन फ्युल सेलले लामो यात्राका लागि कारको रेन्ज वृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। सन् २०३० पश्चात अर्थात हाइड्रोजन स्टेसनहरुको सञ्जाल वृद्धि भएपछि कारलाई चार्ज गर्न नरोकीकन ८०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बहुमुखी ऊर्जावाहकका रुपमा वर्णन गरेको हाइड्रोजनको प्रयोगको दायरा फराकिलो रहेको छ र यसलाई विभिन्न उद्योगहरुमा प्रयोग गर्न सकिन्छ।
हाइड्रोजनलाई विभिन्न तरिकाबाट उत्पादन गर्न सकिन्छ। यसलाई उत्पादन गर्ने एउटा विधि भनेको इलेक्ट्रोसिस हो। यस विधिमा इलेक्ट्रिक करेन्टका साथ पानीलाई अक्सिजन र हाइड्रोजनमा विभाजन गरिन्छ।
यदि यस विधिमा प्रयोग हुने विद्युत नवीकरणीय ऊर्जाजस्तै वायु ऊर्जा र सौर्य ऊर्जाबाट प्राप्त हुन्छ भने यसलाई हरित वा नवीकरणीय हाइड्रोजन भनिन्छ।
रेनल्टले आफ्नो हाइब्रिड कार सिनिक भिजनमा हरित हाइड्रोजन प्रयोग गरिने जनाएको छ। यद्यपि अहिले अधिकांश हाइड्रोजन जेनेरेसनहरु जीवाश्म इन्धनमा आधारित छन्।
रेनल्टको इलेक्ट्रिक–हाइड्रोजन अवधारणाले कार कम्पनीहरुले पेट्रोल र डिजेल गाडीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने न्यून र शून्य उत्सर्जन प्रस्तावहरु विकास गर्ने तौरतरिकाहरु खोजिरहेको भन्ने चित्रण गरेको जनाइएको छ।
कारमा हाइड्रोजन प्रविधि प्रयोग गर्ने रेनल्टको अवधारण नौलो भने होइन। टोयटाले सन् १९९२ मा फ्युल सेल सवारीको विकासको थालनी गरेको थियो। जहाँ हाइड्रोजन ट्यांकमा अक्सिजनको मिश्रणबाट विद्युत उत्पादन गरिन्थ्यो। टोयटाले सन् २०१४ मा हाइड्रोजन फ्युल सेल सेडान ‘मिराई’ लन्च गरेको थियो।
हुन्डाई र बीएमडब्ल्यूजस्ता अन्य कम्पनीहरुले पनि हाइड्रोजनको प्रयोग गर्ने तयारी गरिरहेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19