काठमाण्डौ । ‘‘नेपाली जनताको बैंक, जनताबैंक’’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पुर्याउँदै आएको जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । 

‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथाअन्तराष्ट्रिय रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको सम्झौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिटमार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । 

रेमिट्यान्स कारोबारका लागि एक्सिस बैंकको भारतभरि रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिनेछ । एक्सिस बैंकबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिब १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएईबाट समेत सुरु गरिनेछ ।

जनता बैंकले देशभरीमा १२६ शाखा सञ्जाल, ४० शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको  छ ।