काठमाण्डौ । जापानी कार निर्माता कम्पनी टोयोटाले हालै विश्व बजारमा आफ्नो प्रसिद्ध एमपीभी टोयोटा भेलफायरको नेक्स्ट जेनेरेसन मोडल ल्याएको छ। यससँगै कम्पनीले आफ्नो सेन्चुरी लाइन अपलाई नयाँ रुपमा फेरि बजारमा ल्याउने संकेत पनि गरेको छ। 

कम्पनीले पहिलोपटक ६० को दशकमा टोयोटा सेन्चुरी सेडान बजारमा ल्याएको थियो। त्यसबेला यो सेडानले बजारमा निकै चर्चा बटुलेको थियो। अहिले पनि यसको बिक्री जारी छ। 

अब कम्पनीले यसलाई एसयूभीका रुपमा प्रस्तुत गर्न लागेको छ। यो वर्षको अन्त्यसम्ममा सेन्चुरी एसयूभी बजारमा ल्याउने कम्पनीले संकेत गरेको छ। 

नयाँ एसयूभी लोकप्रिय सेन्चुरी सेडानपछि दोस्रो ‘सेन्चुरी ब्याज’ उत्पादन हुनेछ। यो सेडान मुख्यतया जापानमा बेचिन्छ। तर, यो एसयूभीका बारेमा कम्पनीले यसलाई जापानबाहेक अन्य बजारमा पनि ल्याउने खबर आएको छ। यो एक प्रिमियम एसयूभी हुनेछ। जसले ब्रान्डको नेटवर्क विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ। 

सेन्चुरी ब्रान्ड जापानका धेरै बजारमा निकै लोकप्रिय छ। अब यसलाई अन्य बजारमा पनि लन्च गर्ने तयारी भइरहेको छ।

यो एउटा मोनोकोक एसयूभी हुनेछ। जुन लक्जरी सुविधा र प्रविधिले सुसज्जित हुनेछ। तसर्थ, यो अफ–रोडिङ गाडीका रूपमा भन्दा सहरी सवारीका लागि उपयुक्त हुनेछ। 

इन्टरनेटमा सेअर गरिएका तस्बिरहरुमा यसको फ्रन्ट ग्रिलले धेरै हदसम्म रोल्स रोयसको सम्झना दिलाउँछ। यसबाहेक यसका ठूला पांग्राहरु कम्फर्ट ड्राइभका लागि राम्रो हुनेछन्।

नयाँ एसयूभीले टोयोटा ग्रान्ड हाइल्यान्डर एसयूभीमा डेब्यू गरेको मोनोकोक आर्किटेक्चर प्रयोग गर्ने सम्भावना छ। टोयोटा सेन्चुरी एसयूभीका लागि पनि यस्तै ह्विलबेस दिन सकिन्छ। जसले कारभित्र राम्रो क्याबिन स्पेस उपलब्ध गराउनेछ। 

कम्पनीले यसबारे कुनै प्राविधिक वा मेकानिकल जानकारी नआए पनि मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यो एसयूभीको लम्बाइ ५.२ मिटर र चौडाइ २ मिटर हुनसक्छ।

नयाँ सेन्चुरी एसयूभी ल्यान्ड क्रुजरभन्दा महँगो हुने दाबी पनि गरिएको छ। कम्पनीले टोयोटा सेन्चुरीमा भी१२ पेट्रोल इन्जिन प्रयोग गर्न सक्छ तर यो पुष्टि हुन बाँकी छ। 

यस एसयूभीमा शक्तिशाली इन्जिन र दमदार प्रदर्शनको आशा पनि गर्न सकिन्छ। –एजेन्सी