-रमेशकुमार भट्टराई
कोरोनाको कहरसँगै सबै देशको सेयर बजार ओरालो लाग्यो। कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम विकल्प भएपछि संसारले नचाहेर पनि लकडाउनमा जानुपर्यो । वस्तु ओसारपसार र मानिसको आवागमन ठप्प भएपछि सेयर बजार पनि बन्द हुने नै भयो ।

नेपालमा चैत १० गतेबाट बन्द भएको सेयर बजार क्रमशः थपिँदै बैशाख २५ गतेसम्म पुगिसकेको छ । ४५ दिन लगातार सेयर बजार बन्द हुँदै गर्दा लगानीकर्तामा छटपटी बढदै गइरहेको छ । 

लकडाउनमा गएका कतिपय देशका सेयर बजार खुल्दै गएका छन् । नेपालको बन्द सेयर बजारप्रति अन्तराष्ट्रिय चासो पनि बढ्न थालेपछि लगानीकर्ता, ब्रोकर, नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् र सबैजसो सेयर बजार खोल्नु पर्छ भनी लबिङमा लागेको पाईन्छ।

लगानीकर्ताको मानसिकता
सेयर बजारमा करिब–करिब १८ लाखभन्दा बढी शेयरधनीको लगानी छ । संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढी साना लगानीकर्ताहरु छन् । सानो–सानो पुँजी सेयरमा लगानी गरी नाफा कमाउने र खाँचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानीकर्ता बढी छन् । 

पटक–पटकको लकडाउन थपिएसँगै तीनमा छटपटाहट बढ्दै गएको छ । उद्योग व्यवसाय सबै बन्द छ, अधिकांश व्यवसायीको केही न केही शेयरमा लगानी छ । नगदप्रवाह नभएको अवस्थामा सोही सेयर बिक्री गरी काम चलाउन खोज्नेको पनि हात बाँधिएको छ । त्यसैले सबैको ध्यान शेयरबजारतिर छ ।

अहिले सेयर बजार खोल्ने र नखोल्ने बीचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पण्डितहरु, ब्रोकरहरु, ठूला लगानीकर्ताहरु कसैगरी पनि बजार खोल्नु पर्छ भन्ने लबिङमा छन्। फागुनमा इण्डेक्स १६३२ हुँदा सेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउमा छन् । कोरोनाको त्रासमा बजार लकडाउनअघि १२५१ पुगेको र खुलेपछि पुनः घटने अनुमान गरेकाहरु जसरी पनि बजार खोलाउन मरिहत्ते गरिरहेका छन् । 

ठूला लगानीकर्ता, जो उद्योगी व्यवसायी पनि छन्, ती चाहिँ बजार खुलेपछि शेयर बिक्री गरी आफ्नो खर्च धान्न र व्यवसायको चालुपूँजी जोहो गर्ने ध्याउन्नमा छन् । खरीदबिक्री दुवैमा कमिशन कमाउने ब्रोकरहरुको आम्दानी शून्य भएकोले उनीहरुलाई निन्द्रा लाग्न छोडेको छ। उनीहरु पनि कसैगरी बजार खोल्ने लबिङमा लाग्नु स्वभाविकै हो ।

ठूला लगानीकर्ता, सेयर पण्डित, ब्रोकर तथा अन्तर्राष्ट्रिय दवाबको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएका कारण असहाय देखिन्छन् । तर पनि फेस सेभिङका लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन् ।

तर, अर्कोतिर रहेका लाखौं साना लगानीकर्ता, जो जहिले पनि बढ्दो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन्, ती सबै एकदम त्रासमा छन् । देशको समग्र अर्थ व्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढ्ने सम्भावनाप्रति बिश्वस्त नभएका ती साना लगानीकर्ता कही बजार क्र्यास भएर आफ्नो पूँजी नै डूब्ने त हैन भनी भयभित छन् । त्यसैले केही ठोस संकेत नआई लकडाउनभरि बजार खुल्नु हुँदैन भन्ने मनासिकतामा छन् ।

बजार खोल्नुपर्छ भन्नेहरुको तर्क

ठूला लगानीकर्ता, ब्रोकर, नेप्से, नियामक निकाय समेत बैशाख २५ पछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भए पनि निम्न कारणले सेयरबजार खोल्नु पर्छ भनिरहेका छन् ।

१. बजार खुलेपछि संक्रमण अवस्थामा पनि लगानी गर्ने उपयुक्त स्थान सेयरबजार नै भएकोले लगानीकर्ता उच्च मनोबलका साथ खरिदबिक्रीमा लाग्ने छन् ।

२.विश्व परिवेशमा लकडाउनपछि खुलेका अधिकांश देशका सेयरबजार बढेको छ, नेपालको बजार पनि बढ्ने छ।

३.नेपालको सेयर कारोबारको ८० प्रतिशतभन्दा बढी हिस्सा बैंक, विकास बैंक, लघुवित्त कम्पनी, बीमा कम्पनीहरुको रहेको छ। यी सबै नाफामा रहने भएकोले बजार घटने संभावना रहेको छैन ।

४.कोरोनाको प्रारम्भसँगै फागुनको मध्यतिर रहेको सेयर इण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थियो । कोरोना असर बढ्दै जाँदा घटेर १२५१ र रकम १९ करोड ४६ लाख भइसकेकोले कोरोना करेक्सन पहिले नै भइसक्यो । अब पुनः घट्ने संभावना नरहेको उनीहरूको बुझाइ छ ।

५.लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैंकहरुमा तरलता बढ्ने र र बढेको फण्ड सजिलो, छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र सेयर नै भएकोले थप कर्जा प्रवाह हुनेछ ।

६.विगतको इतिहास हेर्दा पनि बियरिस ट्रेण्डपछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढने सम्भावना रहेको छ ।

७.अर्थतन्त्र सोचनीय अवस्थामा भएकोले सेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानीकर्ता पनि प्रवेश गरी बजारलाई तल आउन नदिने रहेको छ ।

बजार खोल्न हुन्न भन्नेहरुको तर्क
कोरोना समस्याको प्रभावकारी र ठोस व्यवस्थापन नगरी बजार खोल्दा क्र्यास हुने सम्भावना र यसबाट लाखौं सोझासाझा लगानीकर्ताको लगानी डुब्ने डरलाई पनि बिचार पुर्याउन जरुरी छ ।

१. भारत लगायत विकसित देशको सेयर बजार पूर्ण स्वचालित भइसकेकोले घर–घरबाट कारोबार गर्नसक्ने भएकोले लकडाउनमा पनि कारोबार संचालन गरे । हामीकहाँ सेयर अर्डर र इडिआईएसबाट सेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नुपर्ने भएकोले लकडाउन हुञ्जेल कारोबार गर्न तथा गराउन सम्भव नै छैन ।

२.अमेरिका, भारत लगायत धेरै देशले करोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई पुनरोत्थान गर्न राज्यको ढुकुटीबाट अर्बौ–खर्बौ नगद लगानी गर्ने घोषणा गरे । लकडाउनपछि बजार खोल्दा इण्डेक्स बढेको देखियो । भारतीय रिजर्भ बैंकले ५० हजार करोड, अमेरिकाले १ खर्ब डलर, मलेशियाले ४.६ अर्ब डलर, टर्किले १५.४ अर्ब डलर,  इटलीले २७.३ अर्ब डलर जस्तै प्राय धेरै देशले उद्योग व्यवसाय र बेरोजगारलाई राहात दिने भए । हामीकहाँ लकडाउन भएको ४० दिन भइसक्दा पनि सरकार र केन्द्रीय बैंकले उद्योग व्यवसाय र पीडित वर्गलाई बचाउन राहातको ठोस कार्यक्रम र थप लगानीको घोषणा गर्न सकेका छैनन् । अनि के आशामा बजार खुलेपछि बढने हो ? क्रयास नै हुने धेरै सम्भावना रहेको छ।

४.सेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, र बीमा कम्पनीको छ । अहिलेसम्म हेर्दा सुरक्षित देखिन्छन् । सबैको अनुमान बजार खुल्दा यी कम्पनीको सेयर मूल्य घट्दैन भन्ने नै हो । ११ चैतबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरी तेश्रो क्वार्टरको ब्यालेन्ससिट राम्रो आउला । तर, ऋणको ब्याजदर कटौति, शून्य साँवाब्याज असुली, अन्य जिरो आम्दानी र लकडाउन पछिको चेन असरले २०७७ आसारमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको वित्तीय अवस्था नाजुक हुने निश्चित छ । त्यसैले, २०७६ चैतको वासलात हेरी सेयर खरिद गर्ने सबै फस्ने पक्का छ । अनि खुलेको बजारमा टाठा–बाठा बिक्री गरी निस्कने र फस्ने चाहिँ उही सोझो साना लगानीकर्ता नै हुने छन् ।

बजार खुलाउने र टिकाउने उपायहरु
सेयर बजारमा माग र आपूर्तिले कारोबारको मात्रा र इण्डेक्सलाई निर्धारण गर्ने हो । माग राम्रो हुनलाई कम्पनीको प्रदर्शन, प्रतिष्ठा र प्रतिफल राम्रो हुनु जरुरी छ । पुँजीबजारप्रति नियामक र सरकारको सकारात्मक सोंच र सोहीअनुसार नीति र कार्यक्रम आउनु पर्छ। अनि समग्रमा देशको अर्थतन्त्रको भविष्य राम्रो देखिनु पर्छ। विकसित मुलुकजस्तो सेयर बजार हामीकहाँ अझै परिपक्व हुन सकेको छैन । नियामक निकाय र मन्त्रीहरुले नसोची जे पनि बोलिदिने, कम्पनीहरुको भित्री सूचनाको गलत तरिकाले प्रयोग हुने, सेयर खेलाडीहरु नै सञ्चारमाध्यममा बनावटी समाचार निकाल्न लगाई सेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामीकहाँ सामान्य कुरा भइसकेको छ । त्यसैले यी सबै कुराहरुलाई बिचार गरी लकडाउन खुलेपछि मात्र निम्नानुसार वातावरण पनि बनाउँदै जाने र सुरुमा सीमित कारोबार गर्दै लगानीकर्ताको मनोबल बढाउँदै कारोबार वृद्धितर्फ लाग्नुमा नै सबैको हित छ।

१.केन्द्रीय तथ्याङ्क बिभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गम्भीर संकटमा पर्ने देखिन्छ। कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जीडीपीको १४ प्रतिशतसम्मको रकम लगानी गरेका छन् । नेपालले पनि कुल जीडीपी ३२ खर्ब ९ अर्ब रूपैयाँको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्योग व्यवसाय, बेरोजगार ब्यक्ति, कृषक र श्रमिकका लागि घोषणा गर्नु पर्छ। यसले लकडाउन पछि खुल्ने सेयर बजारलाई उकास्न मद्दत गर्छ ।

२.सेयर कारोबार पूर्ण स्वचालित गर्ने भनेको पनि लामो समय भइसक्यो । अब निश्चित समय तोकेर बैंक, ब्रोकर, लगानीकर्ता, डीपी, सिडिएससि र क्लियरिङ बैंक खातासँगको इन्टीग्रेसन छिटो गर्ने र आइपीएस भुक्तानीको सीमा बढाउन प्रयास गर्नुपर्नेछ ।

३.सबै लगानीकर्ताको ‘मेरो सेयर’मा खाता खोल्न लगाउने र खाता हुनेको १०० रूपैयाँ लिएर गरिने नवीकरण यो पटकलाई स्वतः गर्ने वा आसारभित्र शुल्क लिने गरी गर्न सकिन्छ ।

४.सेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भूमिका हुन्छ । ६५ प्रतिशतसम्म कर्जा र २० प्रतिशत घट्दासम्म मार्जिन कल नगर्ने  व्यवस्था रहेको छ । सेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरी हालको सेयरमूल्यको रकममा साँवाब्याज गरी ८० प्रतिशतभित्र हुने गरी नवीकरणको सुबिधा दिनुपर्नेछ । थप सेयर कर्जा दिन नेपाल राष्ट्रबैंकले सरल प्रक्रियाको निर्देशन जारी गर्नुपर्नेछ ।

५.विकसित देशमा नगद लाभांशले सेयर मूल्य बढ्छ भने हामीकहाँ बोनस सेयरले बजार बढाउँछ । कोरोनाको असरबाट बैंकिङ क्षेत्रको वित्तीय सन्तुलन कायम राख्न तथा तरलताको कमी हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभांशमा रोक लगाइसक्यो । नेपाल राष्ट्रबैंकले बैकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनीमा र सरकारले दुरसञ्चार, नागरिक लगानीकोष लगायतमा नगद लाभांश वितरणमा रोक लगाउनु पर्छ । बोनस सेयरको आशामा बजार घट्न पाउँदैन ।

६.लकडाउनपछि सेयर बजार पूर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्र्यास हुने ठूलो सम्भावना छ । संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ । अतः पहिलो हप्ता १ घण्टा कारोबार समय र एक व्यक्तिले प्रति कम्पनी ५०० कित्ता खरिदबिक्री गर्ने, दोश्रो हप्ता २ घण्टा १००० कित्ता, तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्तादेखि पूर्णकालीन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्र्यासलाई रोक्न पनि सकिन्छ । १० प्रतिशतको सर्किट ब्रेकरलाई केही समय ५ प्रतिशतमा राखी अनुगमन र नियन्त्रण गर्न सकिनेछ ।

७.सेयरबजारमा लगानीकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानीकर्ता, डिलर,  मार्केट मेकर, म्युचुअल फण्ड, बीमा कम्पनी, सञ्चयकोष लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्रबैंकले नीति नियम बनाउँदा सेयर बजारलाई सपोर्ट हुने गरी बनाउने र सकारात्मक रुपमा सार्वजनिक धारणाहरु राख्नुपर्ने देखिन्छ ।

८.सरकारको राजश्वको स्रोत कम हुँदै गएको छ । पुँजीगत लाभकर घटाउन नसकिए पनि व्यक्तिगत लगानीकर्ताको अग्रिम काटिएको करलाई अन्तिम मानिने ग्यारेण्टी गर्दा पनि लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ ।

यसरी समग्रमा भन्नुपर्दा देशको ढुकुटीबाट उद्योग व्यवसाय, बैंक र अन्य क्षेत्रलाई ठोस राहातको घोषणा गरी सुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरी क्रमशः बढाउँदै लग्दा क्र्यास हुनबाट जोगाउँछ र लगानीकर्ताको मनोबल पनि बढेर सबैको हित हुने देखिन्छ ।
(लेखक महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ हुन्।)