काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणको प्रभाव अहिले भारतकै सबैभन्दा धनी मानिने केरलास्थित श्रीपद्नाभस्वामी मन्दिर पनि संकटमा परेको छ।

यो मन्दिरमा उत्तर भारतबाट ठूलो संख्यामा आउने श्रद्धालुले ठूलो धनराशि दक्षिण चढाउँथे। तर अहिले यो मन्दिरको आर्थिक अवस्था निकै खराब रहेको बताइएको छ। 

सामान्य अवस्थामा यो मन्दिरलाई दैनिक २ लाखदेखि ३ लाख भारु दान वा दक्षिणबाट प्राप्त हुन्थ्यो। अहिले अनलाइनबाट केही भक्तजन दैनिक केवल १० हजारदेखि २० हजार भारुसम्म पठाउने गरेका छन्।

केरलको तिरिवनन्तपुरमस्थित यो मन्दिरका कार्यकारी अधिकृत वी रथीसनका अनुसार मन्दिरमा कार्यरत ३०७ कर्मचारीलाई बैंकमा जम्मा भएको पैसा र अन्य मौज्दात रकमको ब्याजबाट तलब दिइने गरिएको छ। ‘मन्दिरको खर्चलाई ध्यानमा राखेर अहिले मैले आफ्नो तलबको ३० प्रतिशत हिस्सा कर्मचारीको तलबमा खर्च गरिरहेको छु’, उनले भने। 

भारतकै सबैभन्दा धनी यो मन्दिर अहिले आर्थिक संकटमा परेको रथीसनले बताए। उनका अनुसार सामान्य अवस्थामा दैनिक १० हजारसम्म आउने भक्तजनको संख्या कोरोनाभाइरसका कारण गरिएको लकडाउनले शून्यप्रायः बनेको छ। 

मन्दिर प्रशासनले लकडाउनका कारण गत मार्च र अप्रिलमा मन्दिरले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। प्रशासनका अनुसार करिब ६ करोडको नोक्सानी भएको छ। ‘भारतकै सबैभन्दा धनी मन्दिरको अवस्था छ’, रथीसनले भने, ‘अन्य मन्दिरको हालत के होला ?’

त्रावणकोर देवासोम बोर्डका अध्यक्ष एन वासुले मन्दिरका कर्मचारीहरुलाई तलब दिने अवस्था नरहेको बताए। यो महिना करिब २५ प्रतिशत तलब कटौती गरिएको उनले जानकारी दिए। 

देशकै सबैभन्दा धनी मन्दिरको यस्तो रहेकै अवस्थामा दक्षिण भारतमा रहेका सबै यस्ता धार्मिकस्थल जस्तै सबरीमला मन्दिर जहाँ भगवान् अयप्पाको उपस्थित रहेको मानिन्छ, त्यो मन्दिरको स्थिति नै नाजुक बनेको छ।

त्रावणकोर देवासोम बोर्डले केरलास्थित करिब १२५ मन्दिरको प्रबन्धन हेर्ने गर्छ। जसमध्ये सबरीमला पनि समावेश। लकडाउनका कारण यी सबै मन्दिरमा दान–दक्षिणाबापतको पैसा आउने बन्द भएको वासुले बताए। 

केरलको अर्को धनी मन्दिरका रुपमा गुरुवायूरको स्थिति बाँकी मन्दिरहरुको केही राम्रो छ। – एजेन्सी