काठमाण्डौ । एकातिर कोरोनाभाइरसले विश्वभर त्राहीमामको अवस्था सिर्जना भइरहेको छ भने अर्कोतिर चीन यो भाइरसकै कारण सम्बन्ध बिच्छेदका घटना बढ्न थालेको छ।

चीनको दक्षिणी ग्वाङडोङ पन्तकी ३० वर्षीया गृहिणी मिसेज वूका अनुसार कोरोनाभाइरस रोकथामका लागि चीन सरकारले गरेको लकडाउनका कारण दुई महिनासम्म उनी पतिका साथ घरमा थुनिन बाध्य भइन्। जसका कारण ससाना कुरा भएको मनमुटावले अहिले दुवैजना सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुगेका छन्।

वू भन्छिन्, ‘लकडाउनका कारण घरभित्रै दुवैजना सँगै धेरै समय बस्नुपर्दा हामीबीच लडाइँ झगडा भयो। अनि हामी यो निर्णयमा पुग्यौँ।’
वूले आफ्ना पतिले घरमै बसेर अफिसको काम गर्दा पनि पैसा भने थोरैमात्र कमाउने गरेको बताइन्। ‘पहिले अफिसमै गएर काम गर्दा उनी राति फर्किएपछि मात्र म र केटाकेटीसँग भेट्न हुन्थ्यो, पैसा कम भए पनि ठीक थियो’, उनले भनिन्, ‘अहिले उनी घरबाटै काम गर्छन् तर अधिकांश समय आराम गर्ने भन्दै सुत्छन्। हामीलाई पनि वास्ता गर्दैनन्। त्यसैले म हैरान छु अनि सम्बन्ध बिच्छेद गर्न चाहन्छु।’

त्यसो त चीनमा हरेक वर्ष अन्य देशको तुलनामा सम्बन्ध बिच्छेदका मुद्दा बढी नै हुने गरेको छ। अहिले लकडाउनमा पतिपत्नी अधिकांश समय घरभित्रै हुने हुँदा घरेलुहिंसाका घटना पनि बढ्नुका साथै पहिलेको तुलनामा सम्बन्ध बिच्छेदको घटना पनि झनै बढेको छ। 

यो स्थिति चीनमा मात्र होइन अहिले अधिकांश देशमा दम्पतीबीच देखिएको छ। जसका कारण सम्बन्ध बिच्छेदका घटना पहिलेको तुलनामा बढ्न सक्ने विश्लेषकहरु बताउँछन्।

मध्य चीनकै जियान सहर र सिजुआन प्रान्तको डाझोऊमा मार्चको सुरुआतमै सम्बन्ध बिच्छेदका मुद्दा निकै बढ्दो। हुनान प्रान्तमा अहिले सरकारी कर्मचारीलाई सम्बन्ध बिच्छेदका मुद्दा मिलानमा भ्याइ नभ्याइ छ। स्थानीय प्रशासनले त्यहाँ पहिलेको तुलनामा दोब्बर बढीले सम्बन्ध बिच्छेदका मुद्दाहरु परिरहेको जनाएका छन्।

शिचुआन प्रान्तमा केवल एक महिनामै ३ सय जोडीले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन्। यसको मुख्य कारणले अहिले पति–पत्नी अधिकांश समय सँगै रहने र ससाना कुरामा झगडा गर्ने, पति–पत्नी दुवैबाट मानसिक तथा शारीरिक हिंसा हुने हुँदा सम्बन्ध बिच्छेदका घटनामा बढोत्तरी भएको शिचुआन प्रान्तका सरकारी अधिकारीहरु बताउँछन्।

चीनकै संघाईमा लकडाउनका क्रममा सम्बन्ध बिच्छेदका मुद्दा २५ प्रतिशतले बढेको छ। अधिकांश मुद्दा पति–पत्नीबीच हुने पारिवारिक झगडा नै मुख्य कारण बन्ने गरेको संघाईका सरकारी अधिकारीहरु बताउँछन्। 

यो भाइरसको प्रकोप सकिएपछि अवस्था पुनः सामान्य बन्नेमा सरकारी अधिकारीहरु ढुक्क छन्। –एजेन्सी