काठमाण्डौ । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) लक्ष्मण रिसालले राजीनामा दिएका छन् । 

दुुईवर्षका लागि सीइओमा नियुक्त रिसालको कार्यकाल लम्ब्याउने बिषयमा संचालक समिति सकारात्मक नबनेपछि उनले राजीनामा दिएका बताइएको छ । यद्यपि संचालक समितिले यसको स्वतन्त्र पुष्टि गरिसकेको छैन । 

स्रोतका अनुसार शुक्रबारदेखि विदामा बस्ने भन्दै २ वर्षे कार्यकाल पूरा हुन लागेका कारण आफूले राजीनामा दिएको सीइओले बताएका छन् । 

सीइओ रिसाललाई २०७३ जेठ ३ गते संचालक समितिले सीइओमा नियुक्त गरेको थियो । त्यसअघि उनी केही समयका लागि कामु सीइओ बनेका थिए । 

कार्यकाल पूरा हुुने समय भन्दा तीन महिनाअघि विदामा बस्ने र त्यसको जानकारी संचालक समितिलाई दिने बैकिङ क्षेत्रमा अभ्यास चलिआएको छ । सोही अनुसार सीइओ रिसाल आफ्नो दुुई वर्षे कार्यकाल पूरा हुनुुभन्दा ९ साताअघि विदामा बसेका हुन् । 

बैंक उच्च स्रोतका अनुसार संचालक समितिले रिसालकै कार्यकाल थप्ने संभावना निकै कम छ । नयाँ सीइओको खोजी गर्न थालेको संकेत पाएकै कारण उनले राजीनामा दिने मनस्थिति बनाएको बताइए पनि यसको समेत पुष्टि हुन सकेको छैन । 

राजीनामाको बिषयमा बुुझ्न खोज्दा सीइओ रिसालले फोन उठाएनन् । 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले बैंकबाट राजिनामा दिएर नविल बैंक गएपछि रिसाललाई कामु सीइओको जिम्मेवारी दिइएको थियो । रिसालसँग बैंक तथा बीमा क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ । सन् १९९० मा तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट सहायकस्तरमा जागिरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

एनआइसी एसिया बैंक आउनुअघि उनी बैंक अफ एसियाका कामु सीइओ थिए । बैंक अफ एसिया र एनआइसी बैंक एक आपसमा मर्ज भएपछि बनेको एनआइसी एसिया बैंकमा उनी महाप्रबन्धक भए । यी दुई बैंकबीचको मर्जर नेपालको इतिहासमै वाणिज्य बैंकबीचको पहिलो मर्जर हो ।