काठमाण्डौ । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा १० करोड ७१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले आइतबार बित्तीय विवरण सार्वजनिक गरेको हो । जसमा अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा कम्पनीले नाफामा करिब ७२ प्रतिशतको प्रगति हासिल गरेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष यो माइक्रो फाइनान्सको खूद नाफा ६ करोड २४ लाख मात्र थियो । 

लक्ष्मी लघुवित्तले यो अवधिमा १ अर्ब ३१ करोड सापटी लिएर लगानी गरेको छ भने ६६ करोड १२ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९३ करोड ४९ लाख सापटी लिएर ऋण लगानी गरेको थियो भने ३९ करोड ७६ लाख बराबरको निक्षेप संकलन गरेको थियो । 

यो अवधिमा यो कम्पनीले २ अर्ब १८ करोड कुल ऋण लगानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ३८ करोडको हाराहारीमा मात्र ऋण लगानी गरेको थियो । ऋण लगानीमा छलांग मारेकै कारण कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । यो वर्ष २४ करोड ५४ लाख खूद ब्याज आम्दानी भएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यसको खूद ब्याज आम्दानी १४ करोड ९१ लाख मात्र थियो । 

प्रति सेयर आम्दानी ५६ रुपैयाँ ७७ पैसाबाट घटेर ४८ रुपैयाँ ६९ पैसामा झरेको छ भने प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ८ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात ३८.३९ गुणा कायम भएको छ भने खराब कर्जाको दर समेत ०.३० बाट बढेर ०.५० प्रतिशतमा पुुगेको छ । 

गत वर्ष यो माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । एकसय प्रतिशत हकप्रद समेत बिक्री गरेको थियो । यो वर्षको खूद नाफा तथा अन्य सूचकमा भएको प्रगति हेर्दा लगानीकर्ताले लक्ष्मी लघुवित्तबाट गत वर्षको भन्दा राम्रो रिटर्न पाउने देखिन्छ ।