काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज पनि कच्चा तेलको मूल्य बढेको छ। योसँगै कच्चा तेलको प्रतिब्यारल ८६ डलर नजिक उक्लिएको छ। 

आज बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल प्रतिब्यारल बढेर ८५.८४ डलरमा कारोबार भइरहेको छ। डब्ल्यूटीआई क्रुड पनि प्रतिब्यारल ८२.३० डलर पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दाम बढ्न थालेपछि त्यसको प्रभाव नेपालमा परेको छ। 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले हिजोमात्रै नेपाल आयल नियमलाई पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको थियो। आईओसीले अन्तर्राष्ट्रिय बजारमा हुन उतारचढावका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै हरेक १५ दिनमा नेपालमा नयाँ मूल्यसूची पठाउने गरेको छ। 

भारतबाट बढेर आएपछि नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। गत साउन १ गतेबाट नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ। जसका कारण भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आउँदा नेपालमा पनि बढ्ने र घटेर आउँदा घट्नेछ। –एजेन्सी