काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि १० महिनायतकै उच्च स्तरमा पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा यो साता लगातार कच्चा तेलको मूल्य उकालो लागिरहेको छ। बेन्चमार्क ब्रेन्ट क्रुड बढेर मंगलबार प्रतिब्यारल ९१ डलर माथि नाघेको थियो। बुधबार सामान्य घटेर ९०.६० डलर प्रतिब्यारलमा बन्द भएको छ। 

कच्चा तेलको यो भाउ १० महिनायताकै उच्च हो। यसअघि गत वर्ष नोभेम्बरमा कच्चा तेलको मूल्य उक्त स्तरमा पुगेको थियो। 

अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई)ले पछिल्लो साता यूएस क्रुड इन्भेन्ट्रीबाट ५.५२१ मिलियन ब्यारल ड्र गर्ने निर्णय गरेको थियो। यही कारणले कच्चा तेलको मूल्य उकालो लागेको बताइएको छ। –एजेन्सी