काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन्।
वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै औद्योगीकीकरणलाई प्रवर्द्धन हुने नीतिगत व्यवस्था गर्ने बताए। गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको स्पष्ट पारे।
अधिकारीले हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि उल्लेख गरे। यसबाट लगानीको ब्याजदर स्थिर हुने राष्ट्र बैंकको अपेक्षा रहेको उनको भनाइ थियो।
छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल बजारमा तरलताको चाप बढ्दै गएको देखाउँदै बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको र सो कार्यले आगामी दिनमा कर्जामा समेत ब्याज बढ्ने भएकोले मुलुकमा लगानी महँगो हुने बताए।
परिसंघले हाल देखा पर्न थालेको तरलताको चापलाई कम गर्न स्थानीय सरकारहरुको बैंकमा जम्मा रहेको सम्पूर्ण रकमलाई निश्चित समयलाई कर्जा–निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था कायम गर्नसमेत राष्ट्र बैंकलाई आग्रह गरेको छ।
चालु मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा ९० प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्नुपर्ने नियम ल्याएको र सोअनुसार आँकलन गरिएको भन्दा कम तरलता उपलब्ध भएकोले सो नियमलाई आगामी पुस मसान्तसम्म ९५ प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्ने र असार मसान्तसम्ममा सो अनुपात ९० प्रतिशतमा कायम गरिनु पर्ने गरी स्पष्ट निर्देशन जारी गर्न परिसंघले राष्ट्र बैंकसंग आग्रह गरेको छ।
परिसंघको बैंक तथा वित्त संस्था समितिका सभापति अनलराज भट्टराईले हालको कर्जा–निक्षेप गणना गर्दा विदेशी मुद्रा निक्षेप तथा कर्जालाई समेत गणना गर्नुपर्ने प्रावधानलाई अलग गर्दा बजारमा केही तरलता थप हुने भएकोले राष्ट्र बैंकले त्यसतर्फ समेत ध्यान दिन आग्रह गरेका थिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19