काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७४/७५ मा चार प्रकारका उपकरणमार्फत १४ खर्ब ५० अर्ब बराबरको सरकारी धितोपत्र निश्कासन गर्ने भएको छ ।
सरकारले घाटा बजेट पूरा गर्न, साधारण खर्च तथा विकास खर्च जुटाउन समय समयमा सूचना प्रकाशित गरी सरकारी धितोपत्र निश्कासन गर्ने गर्छ । यस्तो धितोपत्र सरकारको तर्फबाट नेपाल राष्टबैंकले जारी गर्ने गर्छ । सरकारी धितोपत्रमा लगानीमा न्यून जोखिम रहने तथा प्रतिफल समेत न्यून नै प्राप्त हुन्छ । तर, थोरै प्रतिफलमा चित्त बुुझाएर लगानीको जोखिम मोल्न नचाहनेका लागि यो राम्रो विकल्प हो ।
केन्द्रीय बैंकले यस्तै लगानीकर्ताहरुलाई ध्यानमा राखेर आर्थिक वर्ष २०७४/७५ मा निश्कासन हुने सरकारी धितोपत्रको सूचि सार्वजनिक गरेको हो । जसअनुसार उसले अल्पकालीन अवधिको टेजरी बिल, दीर्घकालीन अवधिको विकास ऋणपत्र, यस्तै नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १४ खर्ब ५० अर्ब बढीमा लगानीको अवसर जुराइदिने भएको हो ।
केन्द्रीय बैंकले हालै सुरु चालु आर्थिक वर्षको प्रत्येक त्रैमासमा कुन कुन ऋणपत्र र कति रकमको आउँछन भन्ने तालिका नै प्रकाशन गरेको छ । जसअनुसार ३ अर्ब २९ अर्ब बढीको ट्रेजरी बिल मात्र जारी हुनेछ । यस्तै, ५ देखि १५ वर्षे अवधिको ९ खालका विकास ऋणपत्र समेत जारी गर्ने केन्द्रीय बैंकको कार्यतालिकामा उल्लेख छ ।
पाँच वर्षे अवधिको कुल ६० अर्ब बराबरको नागरिक बचतपत्र पनि जारी हुनेछ । यस्तै, ५ वर्षे अवधिकै १० अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र पनि तीनपटक गरी जारी गर्ने राष्ट्रबैंकको योजना छ ।
राष्ट्रबैंकका अनुसार पहिलो त्रैमासमा ३ खर्ब २५ अर्ब, दोश्रो त्रैमासमा ४ खर्ब ६६ अर्ब, तेश्रो त्रैमासमा ४ खर्ब ५८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ९९ अर्ब ६० करोड बराबरको ऋणपत्रहरु निश्कासन हुनेछन् ।
यसरी सबैभन्दा धेरै विकास ऋणपत्र(४९.६६ प्रतिशत), त्यसपछि ट्रेजरी बिल(४५.५१७ प्रतिशत), नागरिक बचतपत्र(४.१४ प्रतिशत) र वैदेशिक रोजगार बचतपत्र(०.६९ प्रतिशत) निश्कासन हुनेछ ।
ट्रेजरी बिलका सबै अवधिको ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । विकास ऋणपत्रको ब्याजदर समेत बोलकबोलबाटै निर्धारण हुनेछ ।
के हो ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र ?
ट्रेजरी बिल : ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ।
विकास ऋणपत्र : विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ । सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु यो ऋणपत्रको उद्देश्य रहेको छ ।
नागरिक बचतपत्र : यो नेपाल सरकारले जारी गर्ने एक प्रकारको ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने पैसा ऋणस्वरुप जनताबाट उठाउँदा नेपाल राष्ट्र बैंकमार्फत सरकारले ऋणपत्र जारी गर्छ। नागरिक बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्नसक्ने ऋणपत्र हो। अर्थात यसमा नेपाली नागरिकले मात्र लगानी गर्न सक्छन्।
वैदेशिक रोजगार बचतपत्र : वैदेशिक रोजगारीमा काम गरिरहेका नेपालीलाई लक्षित गरी राष्ट्र बैङ्कले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । बचतपत्र खरीदकर्ताले यसलाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखेर समेत कर्जा लिन सकिने भएकाले उपयोगी छ । सो बचतपत्रमा मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नामबाट लगानी गर्न सक्नेछन् । यसमा अर्धवार्षिक रुपमा ब्याज पाइन्छ भने कुनै बेला आफूलाई चाहिएको बेला धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थाबाट रकम झिक्न पनि सकिन्छ । यो बचतपत्र सरकारको नाममा जम्मा हुन्छ र यो पैसा देश विकासमा प्रयोग गरिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago