-प्रकाश न्यौपाने

काठमाण्डौ । केही समयदेखि नेपाल राष्ट्रबैकले लघुवित्त संस्थाहरु कमजोर र धरासायी हुँदै गएका, संस्थामा आर्थिक सुशासन नभएको, बेथिति बढेको भनेर लाभांश बितरणमा कडाई गर्ने नीति सार्वजनिक गरेलगत्तै लघुवित्तको सेयरमूल्यमा लगातार पहिरो गयो । 

केही दिनअघि फेरि राष्ट्रबैंकका गभर्नरले लघुवित्तको लाभांश सम्बन्धी अन्यौल प्रष्ट पारेका छन् । उनले भने-'लघुवित्त कम्पनी डुब्नसक्ने अवस्था आएकोले १५ प्रतिशत भन्दा बढी लाभांश वितरणमा रोक लगाइएको हो।' 

त्यसको दुई दिनपछि नै राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि संसोधित एकीकृत निर्देशन जारी गरेको छ। निर्देशनमा असल कर्जाको प्रभिजनको सीमा बढाएर १ प्रतिशतबाट १.३ प्रतिशत बनाइएको छ । केही सुशासनका विषयमा पनि टाइट गर्न खोजिएको छ । 

गभर्नर अधिकारीको प्रष्ट भनाई र केन्द्रीय बैंकको पछिल्लो संसोधित निर्देशनले आउने दिनमा लघुवित्त कम्पनीको सेयर होल्ड गरेर बसेका सेयरधनीलाई कस्तो असर पार्ला ? सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेल गभर्नरको प्रष्टतासँगै राम्रो अवस्थाका लघुवित्तको सेयरमूल्यमा आकर्षण बढ्नसक्ने बताउँछन् । 'केन्द्रीय बैंकको नीति प्रष्ट रुपमा आयो । सूचीकृत कम्पनीहरु नडूबुन्, सुशासन कायम होस् भन्ने उद्देश्य गलत होइन । यो बजार र लगानीकर्ताको पक्षमै छ ।' उनले भने-'कतिपय कम्पनीहरुको सेयरमूल्य न्यून विन्दूमा झरेको छ । प्रत्येक वर्ष १५ प्रतिशत लाभांश आउनु नराम्रो कुरा होइन । त्यसकारण राम्रा र बलिया कम्पनी छानेर लगानी गर्ने उपयुक्त समय अहिले नै हुनसक्छ ।' 

दोश्रो बजारमा उच्च मूल्यमा कारोबार भइरहेका कतिपय कम्पनीले वर्षौदेखि लाभांश नै नदिएका उदाहरण पेश गर्दै उनले वार्षिक कम्तीमा १५ प्रतिशत लाभांश सुनिश्चित भएका लघुवित्तमा लगानी गर्दा दीर्घकालमा राम्रो फाइदा हुने बताए । 

बजार जानकार सरोज भट्टराई राष्ट्रबैंकले लघुवित्तहरुलाई व्यवस्थित र सुशासित गर्न ल्याएको नीतिको स्वागत गर्छन् । 'कम्पनी कमजोर बनाएर भएको रिजर्भ रित्तो बनाई लाभांश दिंदा आउने वर्ष दीर्घकालीन लगानीकर्ताको हात खालि हुन्छ ।' उनले भने-'कुनै वर्ष धेरै दिने र कुनै वर्ष दिंदै नदिने गर्दा कम्पनीलाई लगानीकर्ताले हेर्ने दृष्टि नै फरक हुन्छ। कम्पनीहरुले दीर्घकालीन लगानीकर्ताको हित हेरी लाभांश बाँड्दा सेयर बजार, स्वयम् कम्पनी र लगानीकर्ता सबैको हित हुन्छ ।' 

उनको बुझाईमा केही खराब लघुवित्तका कारण राष्ट्रबैंकले यो नीति ल्याएको हो । यो नीति सधैंका लागि नभई केही समयका लागि मात्र ल्याइएको र राष्ट्रबैंकले मापदण्ड समेत बनाइरहेकोले थप परिस्कृत अवस्था आउनसक्ने देखिन्छ । 

'यस बिषयमा राष्ट्रबैकले पत्रकार सम्मेलनबाट पनि प्रष्ट पारिसकेको छ। लघुवित्त कम्पनीहरुको अबस्था राष्ट्रबैंकलाई सन्तोषजनक लागेपछि अहिलेको नीतिमा खुकुलो पनि हुनसक्छ ।' भट्टराईले थपे-'सेयर बजारमा लगानी गर्ने भनेको दीर्घकालसम्म कम्पनीले प्रत्येक बर्ष दिने लाभांश खानका लागि हो। राम्रा मजबुत कम्पनीहरु अध्ययन गरेर अहिलेको न्यूनबिन्दुमा खरिद गरेर राख्दा भबिष्यमा राम्रै नाफा हुन्छ ।' 

उनले हल्लाको भरमा कमजोर कम्पनीमा लगानी गरी पछुताउनुभन्दा कमाई राम्रो भएका र रिजर्भ पनि राम्रो भएका लघुवित्तको सेयरमा लगानी गर्न अहिले डराउनुपर्ने अवस्था नरहेको समेत प्रष्ट पारे ।